काठमाडौं, ९ फागुन — हरेक दिनचर्याको शुरुवात सूर्योदयबाट हुन्छ । सूर्य प्रत्यक्ष देवता हुनुहुन्छ । उहाँ सृष्टिको आत्मा ग्रह हुनुहुन्छ । चन्द्रमा चाहिँ सृष्टिमा मनको कारक हुनुहुन्छ । पृथ्वी सृष्टिमा सबै प्राणीकी जननी हुनुहुन्छ । उहाँहरूको सम्मान गर्नुमा हित छ ।

बिहान उठेपछि क्रमशः यसो गर्नुभयो भने तपाईंलाई धनलाभ लगायतका फाइदा हुन्छन् ।
बिहान निद्रा खुल्नेबित्तिकै इष्टदेवताको स्मरण गर्नुपर्छ ।
अनि हत्केलामा हेरेर औंलाको टुप्पोमा लक्ष्मी, हत्केलाको मध्यमा सरस्वती र मणिबन्धमा ब्रह्मालाई सम्झेर प्रणाम गर्नुपर्छ ।
ओछ्यानबाट झर्नुअघि तत्कालै दाहिने हत्केलाले पृथ्वीलाई स्पर्श गरेर प्रणाम गर्नुस् ।
त्यसपछि मलमूत्र विसर्जन गर्नुस् । मलमूत्रको वेगलाई रोकिराख्नु हुँदैन । शरीरबाट यिनीहरूलाई जतिसक्दो छिटो निकल्नुपर्छ ।
सूर्योदयभन्दा अघि नै उठ्नुस् । निद्रा पूरा भएको छैन भने पछि पूरा गर्नुस् । राति सुत्न पाउनुभएन भने त्यसको आधी समय दिउँसो सुत्ने अनुमति शास्त्रले दिन्छ । दिनमा तीन घन्टा सुत्नुभयो भने पनि रातिको थकान मेटिन्छ ।
बिहानै ब्रह्ममुहूर्तमा उठ्ने मानिसले ईश्वरीय शक्ति, अपूर्व मेधा र ब्रह्मज्ञान हासिल गर्छ ।
ब्रह्ममुहूर्तमा उठेर धर्म तथा अर्थको चिन्तन गर्ने मानिसले अक्षय धर्म र बेस्सरी सम्पत्ति जोड्न सक्छ ।
सूर्य सधैं समयमा उदाउँछ । सूर्यको जस्तो शक्ति चाहिएमा बाल सूर्यको पूजन र प्रणाम आवश्यक हुन्छ । त्यसैले समयअगावै जाग्नुपर्छ । समयमै सुत्ने मानिस नै समयमा उठ्न सक्छ ।
व्यक्तिभित्र रहेको चेतन घडीले उसलाई समयमा उठाइदिन्छ । सुत्नुअघि शुभसंकल्प गर्नुस्, ‘हे प्रभु, मलाई ब्रह्ममुहूर्तमा उठाइदिनुस् ।’ यसो गर्दा सूर्योदयअघि नै निद्रा खुल्छ ।
पञ्जाब केसरीबाट