
काठमाडौं–सबैभन्दा लामो समय सम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीको अभियान आज (बुधवार) पनि जारी छ ।
केसीको अभियान गोकर्णेश्वर–५ स्थित ईस्ट पोल माविमा सोमबार विहान ६ बजेबाट शुरु भएको हो । आज विहान १० बजे सम्मको रेकर्ड अनुसार उनले ५२ घण्टा बोलिसकेका छन् । अभियानको संयोजन गरिरहेका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमार राज सुवेदीले राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई सम्भव भए सम्म तन, मन र धन सबै किसिमले सहयोग गर्न अपील गरेका छन् ।
अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लागेका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेको भए पनि प्राविधिक कारणले गिनिज बुक्स अफ वल्र्ड रेकर्डले प्रमाणिकरण नगरेपछि यस वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालिएको हो ।
शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागेर त्यसको तालिम समेत दिने गरेको केसीले यसपटक विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लाग्नुभएको हो ।
केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताएका छन् ।
अहिले भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको रेकर्ड छ ।