काठमाडौं — भारतको दिल्लीमा २० वर्षीय एक दुब्ले व्यक्तिले लाखौं रुपैयाँ बराबारको प्रोटीन चोरेका छन् । उनी जम्मा ३५ किलोका थिए र फटाही गर्नका लागि तौल बढाउन चाहन्थे ।
कसैले उनलाई टन्न प्रोटीन खाएमा तौल बढ्ने सल्लाह दियो । त्यसपछि आरोपित व्यक्ति आफ्ना तीन साथीका साथ प्रोटीन बेच्ने पसलमा पुगे । त्यहाँ उनले पसलेलाई पिस्तोल देखाएर लाखौं रुपैयाँ पर्ने प्रोटीनको ब्याग चोरेर फरार भए ।
पक्राउ नपरियोस् भनेर उनले पसलमा भएको सीसीटीभीको रेकर्डर समेत लिएर गए ।
प्रहरीले घटनाको अनुसन्धान शुरू गरेको छ । प्रहरीका अनुसार प्रोटीन पसले अंकुश दिउँसो पसलमा हुँदा एक दुब्ले मानिस आएर तौल बढाउने प्रोटीन मागे । अंकुशले त्यत्तिकै मात्रा नमिलाइकन प्रोटीन खाँदा स्वास्थ्यमा हानि पुग्ने
बताए र जिम ट्रेनरसँग सल्लाह लिन भने । कुरा नसुनिकन उक्त दुब्लेले प्रोटीन मागिरहे तर अंकुशले नदिएपछि रिसाउँदै बाहिर गए ।
एकछिनपछि दुब्ले आए र अंकुशलाई प्रोटीनको ब्रान्ड लेखेर दिन भने । अंकुशले लेख्न थाल्दा दुब्लेले हात समाते र टाउकोमा पिस्तोल ताकेर प्रोटीन दिन धम्की दिए । त्यही क्रममा दुब्लेका दुई साथी पसलमा आए र लाखौं रुपैयाँ पर्ने
प्रोटीन प्याकेट र औषधिहरू लिएर चम्पत भए ।
एजेन्सी