
काठमाडौं — आमिर खान आफ्नो ड्रीम प्रोजेक्ट महाभारतका लागि रिलायन्स इन्टरटेनमेन्टसँग साझेदारी गर्ने भएका छन् । फिल्मको बजेट दश अर्ब भारु छ । फिल्म तीन भागमा बन्नेछ ।
आमिरको यो महत्त्वाकांक्षी फिल्ममा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीले लगानी गर्ने भएका हुन् ।
आमिरले फिल्मको कास्टिङ शुरू गरिसकेका छन् । उनले प्रभासलाई फिल्म खेल्न अनुरोध गरेका छन् । शायद प्रभासलाई अर्जुनको भूमिका दिइनेछ । अनि फिल्मलाई बाहुबलीका निर्देशक एसएस राजामौलीले निर्देशन गरून् भन्ने आमिरको इच्छा छ ।
राजामौली आफैंले महाभारतमा आधारित फिलम बनाउने इच्छा व्यक्त गरेका थिए ।
फिल्ममा द्रौपदीको भूमिका दीपिका पादुकोणलाई दिइने हल्ला छ । आमिर आफैं चाहिँ कृष्णको भूमिकामा देखिन चाहन्छन् ।
तीन भागमा बन्ने फिल्म सक्नका लागि आमिरलाई कम्तीमा १० वर्ष लाग्ने बताइएको छ ।
आमिरले शकुन बत्राको निर्देशनमा ओशोमाथि बन्ने फिल्मलाई अहिले थाती राखेका छन् । आमिरको सल्लाहमा फिल्मको स्क्रिप्टमा फेरि काम भइरहेको छ । आमिरले स्क्रिप्टका केही भाग मन नपराएको कुरा छ ।
एजेन्सी