
विराटनगर – महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटक लिएर विराटनगरका कलाकार यतिबेला काठमाडौमा छन् ।
भदौ १३ गतेदेखि अर्थात् बुधवारदेखि २६ गतेसम्म काठमाडौं बत्तिसपुतलीको चर्चित नाटकघर शिल्पी थिएटरमा टोलीले नाटक देखाउने छ । केही समय अगाडि विराटनगरको गुरूकुलमा प्रदर्शनीमा ल्याइएको नाटक अब विराटनगरको सफलतापछि काठमाडौंमा देखाउन लागिएको हो ।
विराटनगरको आरोहरण गुरुकुलको सुशीला कोइराला नाटक घरमा गत फागुन ११ गतेदेखि २१ गतेसम्म दर्शकको आँखाबाट आँसु खसाल्न सफल ‘मुनामदन’ नाटकले काठमाडौंमा पनि सफलता पाउनेमा निर्माण पक्षको दावी छ ।
दर्शकबाट अत्यधिक रुचाइएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ आउँदो भदौ १३ गतेदेखि २६ गतेसम्म काठमाडौं बत्तिसपुतलीको चर्चित नाटकघर शिल्पी थिएटरमा मञ्चन गरिने भएको छ ।
केन्द्रमा मात्र नभएर सशक्त कलाकार मोफसलमा पनि रहेको उदाहरण दिनका लागि नाटकलाई काठमाडौं लैजान लागिएको आयोजक विराट आदर्श साहित्य मञ्चका सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । मोफसलको नाटक काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा बढी रुचाइएको नाटक देखाएर केन्द्रको मन लोभ्याउने नाटकका नाट्य संयोजक कमल पोखरेलले बताए ।
मुनामदनको नाट्य रुपान्तरण तथा संवाद लेखन युवा साहित्यकार कटवाल दिपकले गरेका हुन् भने निर्देशन सवीन कट्टेलले गर्ने भएका छन् । नाटकमा निर्देशक कट्टेलले मुख्य कलाकार मदनको भूमिका निभाउने भएका छन् भने उनका साथमा दीपा पोखरेलले मुनाको भूमिका निभाउँदै छिन् । नाटकमा जिना राई, लकेश राई, एन्जन पौडेल, पवित्रा खड्का लगायतको भूमिका रहने छ ।
नाटक काठमाडौं पुर्याउन मोरङ समाज काठमाडौंका अध्यक्ष मुरारी कोइरालाले विशेष सहयोगीको भूमिका खेलेका हुन् । नाटक विराटनगरमा पूरा तयारीका साथ देखाइएको भएपनि काठमाडौंमा थप तयारी गर्नुपर्ने भएकोले कलाकारलाई थप प्रशिक्षणमा राखिएको छ ।