
काठमाडौँ- एसियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत पदक जित्न सफल भएको छ । इण्डोनेसियामा जारी १८आँै संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले आज रजत हात पारेको हो ।
पहिलो पटक एशियाली खेलकूद (एशियाड)मा सहभागिता जनाएको प्याराग्लाइडिङ खेलले आज नेपाललाई रजत पदक दिलाएसँगै एशियाडमा नेपालको यो दोस्रो उच्च उपाधी हो । यसअघि सन् १९९८ मा थाइल्याण्डको बैंककमा भएको १३औँ एशियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई रजत पदक दिलाएकी थिइन् ।
थाइल्याण्डको बैंककमा १९९८ मा तेक्वान्दो खेलाडी राजभण्डारीले जितेको रजतपछि अर्को रजत पदक जित्न नेपाललाई २० वर्ष कुर्नुप¥यो । नेपालले कूल १६ संस्करण खेल्दासम्म एशियाडमा स्वर्ण पदक भने जित्न सकेका छैन ।
विमल अधिकारीले नेतृत्व गरेको नेपाली प्याराग्लाइडिङ टोलीमा युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा छन् । क्रस कन्ट्री इभेन्ट इण्डोनेसियाको वेस्ट जाभास्थित गुनुङ मास पुनासमा पाँच दिनसम्म चलेको थियो ।
नेपाल स्वर्ण पदक जित्नबाट जापानसँग २७ अङ्कले पछि पर्दै रजत पदक जितेको हो । नेपालले कूल ११ हजार ३६४ अङ्क ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१ अङ्क प्राप्त गरेको हो ।
जारी प्रतियोगितामा नेपाल पदक जित्ने ३७औँ मुलुकसमेत भएको छ । यसअघि जारी प्रतियोगितामा ३६ मुलुकले पदक जितिसकेका छन् । एशियाडको १८औँ संस्करणसम्म आएपुग्दा नेपालले कूल दुई रजत र २२ कांस्य पदक जितेको छ ।
“पदक जितेकामा धेरै खुशी लागेको छ”, नेपाल प्याराग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र राउतले भने, “पहिलो प्रयासमै हामी पदक जित्न सफल भयौँ ।”
पदकको आशा गरिएको तेक्वान्दो, कराते, बक्सिङजस्ता खेलमा कमजोर बनेको नेपालका लागि प्याराग्लाइडिङले एशियाली खेलकूद इतिहासमै नेपालको दोस्रो रजत पदक जित्दै निराश हुनबाट जोगाएको हो ।