
काठमाडौं–बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रबीच सामाजिक, धार्मिक रुपमा केही निकटता भए पनि क्षेत्रफल, राजनीतिक व्यबस्था आदिका दृष्टिले निक्कै भिन्नता रहेको छ । यस क्षेत्रका सात सदस्यमध्ये धेरै देशले लामो समय सैनिक शासन व्यहोर्नुपरेको तीतो यथार्थ छ ।
राजनीतिक रुपमा थाइल्यान्ड, म्यानमार, बंगलादेशले लामो समय सैनिक शासन व्यहोरेका छन् । भौगोलिक र जनसंख्याको दृष्टिकोणले भारत अन्य मुलुकको तुलनामा निकै ठूलो मुलुकका रुपमा रहेको छ । यस क्षेत्रका देशमा औषत आयु झण्डै समान रहेको छ भने बौद्ध धर्म मान्य देशको बाहुल्यता रहेको छ । बौद्धधर्म मान्य मुलुकमा थाइल्याण्ड, वर्मा, श्रीलङ्का, भूटान रहेका छन् ।
बङ्गलादेश
बंगलादेश विश्वमा धेरै जनसंख्या भएका मुलुकमा आठाँैं स्थानमा पर्छ । यसको भारत र म्यानमारसँग सीमा जोडिएको छ । बंगलादेश विकासशील तथा शक्तिका दृष्टिले मध्यखाले देशमा पर्छ । आन्तरिक गार्हस्थ उत्पादनका दृष्टिले यो विश्वमा ४३ औँ स्थानमा रहेको छ भने विश्वमा सबैभन्दा ठूलो कपडा निर्यातक मुलुकमा बंगलादेश पर्न आउँछ । सन् २०१६ सम्ममा बंगलादेशको जनसंख्या १६ करोड २० लाख रहेको छ ।
बंगलादेशमा चरम गरिबी रहेको र यसले हालका वर्षमा जनसंख्या वृद्धिदर नियन्त्रण गर्नुका साथै स्वास्थ्य र शिक्षा क्षेत्रमा केही सुधार गरेको छ । बंगलादेश १५ वर्षसम्म सैनिक शासनमा कायम रहेको र सन् १९९० मा प्रजातन्त्रको स्थापना भएपछि पनि यहाँको राजनीति तरल अबस्थामै रहेको छ
जनसंख्याः करिब १६ करोड २० लाख
क्षेत्रफल : करिब १४ लाख हजार ३९ हजार वर्ग किलोमिटर
मुख्य धर्म : इस्लाम र हिन्दू
औषतआयु : पुरुष ६९ वर्ष र महिला ७० वर्ष
भुटान
दक्षिण एसियाको सानो हिमाली भूपरिवेष्ठित मुलुक भूटानको चीन र भारतसँग सीमा जोडिएको छ । भूटानमा सन् १९७० देखि मात्रै विदेशीहरूका लागि भ्रमण खुला गरिएको हो । भूटानमा बाङ्गचुक शाही परिवारले सन् १९०७ देखि शासन गर्दै आएको र सन् २००८ मा सम्पन्न निर्वाचनपछि भूटान दुई दलीय संसदीय प्रजातान्त्रिक मुलुका रुपमा चिनिदै आएको छ । भूटान इतिहासमा कहिले पनि पराधिन नभएको मुलक भए पनि अहिले भूटानी विदेश तथा सुरक्षा मामिला भने भारतले हेर्ने गरेको छ ।
जनसंख्या : करीब सात लाख ५० हजार
क्षेत्रफलः करिब ३८ हजार ३६४ वर्ग किलोमिटर
राष्ट्रिय भाषा : जोङ्खा
मुख्य धर्म : बौद्ध, हिन्दु
औषत आयु : पुरुष ६६ , महिला ७०
भारत
भारत विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकको रुपमा परिचित रहेको र हाल विश्वको दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको मुलुकको रुपमा परिचय बनाएको देश हो । भारतले सन् २०२८ सम्म चीनलाई पनि उछिनेर विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हुने अनुमान संयुक्त राष्ट्र संघको रहेको छ । भारत विश्वको आर्थिक तथा आणविक शक्तिका रुपमा विकसित हुँदै गएको र यसले ठूलो सामाजिक, आर्थिक र वातावरणीय समस्या झेलिरहेको छ ।
जनसंख्या : करीब एक अर्ब ३० करोड
क्षेत्रफल : करिब ३१ लाख वर्ग किलोमिटर (कश्मिरबाहेक) रहेको छ
प्रमुख भाषा : हिन्दी
मुख्य धर्महरू : हिन्दू, इस्लाम, क्रिस्चियन, सिख र बौद्ध
सरदर आयु, पुरुष : ६७, महिला ७० वर्ष
म्यानमार
लामो समय सैनिक शासनमा जकडिएको म्यानमारको पश्चिममा भारत र बंगलादेश रहेका छन् भने पूर्वमा थाइल्याण्ड र लाओस रहेका छन्, त्यस्तै उत्तरमा चीन रहेको छ । सन् १९६२ देखि २०११ सम्म म्यामारमा सैनिक शासन रहेको थियो । म्यानमार सन् २०१० पछि क्रमिक रुपमा प्रजातान्त्रिक बाटोमा अघि बढेको र सन् २०१५ मा भएको निर्वाचनपछि आङ साङ सुकीको नेतृत्वको पार्टीले सरकार सञ्चालन गर्दै आएको छ । त्यहाँ एक वर्ष अघि भएको अशान्तिपछि झण्डै पाँच लाख रोहिङ्गा मुसलमान नागरिक छिमेकी बंगलादेशमा शरण लिन पुगेका छन्, यसबाट नयाँ सरकारको छबि अन्तर्राष्ट्रिय स्तरमा केही धमिलिएको छ ।
जनसंख्याः पाँच करोड ३० लाख
क्षेत्रफल : करीब ६७ लाख ६५ हजार वर्ग किलोमिटर
प्रमुख भाषा : बर्मेली
धर्म : बौद्ध
सरदर आयु : पुरुष ६४, महिला ६९ वर्ष
नेपाल
प्राचीन संस्कृति र प्राकृतिक सुन्दरताले भरिएको भूपरिवेष्ठित देश नेपाल इतिहासमा कहिले पनि कसैको उपनिवेश बनेन । विक्रम संवत २००७ पछिमात्र खुला समाजमा रुपान्तरित भएको थियो । विक्रम संवत २०४५÷४६ को जनआन्दोलनपछि नेपालमा संवैधानिक राजतन्त्रात्मक शासन व्यबस्था शुरु भयो भने २०६२÷२०६३को जनआन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र विक्रम संबत् २०७२ मा नयाँ संविधान जारी भएपछि अहिले तीन तहको निर्वाचन सम्पन्न गरी राजनीतिक स्थायित्वको बाटोमा अग्रसर रहेको छ ।
जनसंख्याः करीब तीन करोड २४ लाख (स्रोतः सीबीएस)
क्षेत्रफल : करीब एक लाख ४७ हजार वर्ग किलोमिटर
प्रमुख भाषा : नेपाली
प्रमुख धर्म : हिन्दू र बौद्ध
सरदर आयुः पुरुष ६८ महिला ७१
श्रीलङ्का
भारतको दक्षिणमा अबस्थित टापु राष्ट्र श्रीलङ्का प्राकृतिक रुपमा निकै सुन्दर देश हो । लामो समयसम्म गृहयुद्धको चपेटामा परेको यो देशले २५ वर्षदेखि चलेको गृहयुद्ध सन् २००९ मा सरकारी सेनाले तामिल टाइगरको नियन्त्रणमा रहेको उत्तरपूर्वी क्षेत्रमा कब्जा जमाएपछि समाप्त भएको थियो । श्रीलङ्का १६ औं शताब्दीपछि पोर्चुगल र डचहरूको लामो समय उपनिवेश बनेको र बेलायतको १५० वर्ष लामो उपनिवेशपछि सन् १९४८ मा स्वतन्त्र भएको थियो ।
जनसंख्याः करीब दुई करोड १२ लाख (स्रोतः सीबीएस)
क्षेत्रफल : करीब ६५ हजार ६१० वर्ग्किलोमिटर
प्रमुख भाषा : सिनहाल, तमिल र अंग्रेजी
प्रमुख धर्म : बौद्ध, हिन्दू, क्रिश्चियन, अग्रेजी
सरदर आयुः पुरुष ७२ महिला ७८
थाइल्याण्ड
दक्षिण पूर्वी एसियामा कहिल्यै कसैको उपनिवेश नबनेको एक मात्र मुलुक थाइल्याण्ड बौद्ध धर्मावलम्बीहरूको बाहुल्य भएको राजतन्त्रात्मक मुलुक हो । यहाँ राजतन्त्र समर्थक सैनिक शासन व्यबस्था लामो समय कायम रह्यो । सन् १९४७ देखि धेरै समय सैनिक शासन भएको थाइल्याडमा सन् २००१ पछि थाक्सिन सिनावत्रा समर्थक र विरोधीबीच सन् २००६ मा सैनिकले शासन नलिएसम्म विवाद कायम रहयो । त्यसपछि सन् २०११ मा भएको निर्वाचन पछि थाक्सिनकी बहिनी यानलुक सिनावात्रा प्रधानमन्त्री हुनु भए पनि सन् २०१४ मा पुनः सैनिक विद्रोहबाट सत्ता गुमाउनु भएको थियो ।
जनसंख्याः छ करोड ९० लाख
क्षेत्रफल : करीब पाँच लाख १३ हजार वर्ग किलोमिटर
प्रमुख भाषा : थाई
धर्म : बौद्ध
सरदर आयुः पुरुष ७१ महिला ७९
स्रोत : एजेन्सी (तथ्याङ्कहरू सन् २०१७)
गोरखापत्रबाट