
जनकपुरधाम – बलात्कारका घटना दिनदिनै बढ्दै गएकाले बलात्कारीलाई फाँसी (मृत्युदण्ड) दिनुपर्ने भनेर संघीय संसदमा आवाज उठ्ने गरेको छ ।
बलात्कारविरुद्ध आवाज उठाउने अभियन्ताले पनि विभिन्न आन्दोलन र प्रदर्शनका क्रममा फाँसीको माग गर्ने गरेका छन् । तर, २ नम्बर प्रदेशसभा बैठकमा सांसदले अनौठो माग गरेका छन् । बिहीवार प्रदेश सभाको विशेष समयमा बोल्दै बाराकी सांसद ज्वालाकुमारी साहले बलात्कारीलाई प्रदेश सरकारले आफ्नै कानून बनाएर फाँसीको सजाय निर्धारण गर्नुपर्ने प्रदेश सरकारसँग आग्रह गरेकी छन् ।
‘यो प्रदेशमा बलात्कारको संख्या बढ्दै गएको छ, रोकिनुपर्नेमा न्यूनिकरण समेत हुन सकेको छैन, त्यसकारण कडाभन्दा कडा कानून बनाउनका लागि बलात्कार गर्ने बलात्कारीलाई फाँसी नै दिनुपर्ने कानून बनाउन आवश्यक छ,’ तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद साहले बताइन् ।
सांसद साहले प्रदेशले नै फाँसी दिने कानून बनाउनुपर्ने माग गर्दा नेपालको संविधानमा फाँसीको सजाय दिन नपाउने व्यवस्था छ । संविधानमा भएको व्यवस्था विपरीत प्रदेश सभाले कानून बनाउन पाउँदैन । संघीय संसदले संविधान संशोधन गरेपछि मात्रै फाँसी सम्बन्धी कानून बनाएर लागू गर्न सकिन्छ । तर, संविधान संशोधनको कुरा नै नगरी प्रदेश सभाले फाँसीको कानून बनाउनुपर्ने भनेर सांसदले प्रदेश सभामा अनौठो विचार राखेकी छन् ।
बैठकमा महोत्तरीकै सांसद शारदादेवी थापाले महोत्तरीको औरहीमा गत आइतवार १ जना ८ महिने दुधे बालिका सोनाली चौधरीलाई अपहरण गरेर बलात्कार गर्दै हत्या गरिएको भएपनि स्थानीय प्रहरीले अपराधीलाई पक्राउ गर्न नसकेकोमा प्रहरी प्रशासनको आलोचना गरेकी छन् । उमेर पुगेका महिलाको बलात्कार हुँदा अलि सामान्य रूपमा लिने गरिएपनि दूधे बालिकाको समेत बलात्कार गर्ने घटना हुनु प्रदेशकै लागि लज्जास्पद विषय रहेको सांसद थापाले बताइन् ।
तत्कालीन नेकपा एमालेबाट निर्वाचित सांसद थापाले घटना भएपछि सीसीटीभी क्यामेरामा रहेको फूटेजको आधारमा स्थानीयको सहयोगले अपराधीको प्रष्ट पहिचान भइसकेको भएपनि अपराधीलाई खोजी गर्ने काम भइ नै रहेको जवाफ मात्र आइरहेको बताइन् । ‘महोत्तरीको औरही नगरपालिका मात्रै होइन, औरहीसँगै टाँसिएका अन्य स्थानीय तह र अब बिस्तारै जिल्ला नै आन्दोलित हुने अवस्था आइसकेकाले तत्कालै अपराधीलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरोस्,’ उनले भनिन् ।
‘एकातर्फ मुख्यमन्त्री लालबाबु राउत ज्यूले मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान’ चलाउनुभएको छ, अर्कोतर्फ चेलीबेटी असुरक्षित हुँदै गएका छन्, प्रदेश सरकारले त्यसको जवाफ दिनुपर्छ,’ सदनमा बोल्दै सांसद थापाले प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।
सदनमा उठेका सवालमा प्रदेश सरकारका मन्त्रीले जवाफ नदिने गरेको भन्दै सांसदहरूले प्रश्न उठाएपछि सभामुख सरोजकुमार यादवले प्रदेश सरकारलाई जवाफ दिन भन्दै रुलिङ गरेका छन् । प्रदेश सभाको बैठक जारी छ ।