
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा ब्लू इकोनोमीको एजेण्डाले प्रवेश पाएको छ ।
राजधानीमा बिहीबारदेखि सुरु भएको सम्मेलनमा सहभागी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै साझेदार मुलुकले ब्लू इकोनोमीलाई प्राथमिकताकासाथ उठाउनु पर्ने बताएका हुन् ।
सबै साझोदार मुलकले दिगो विकास र समृद्धिका लागि ब्लू इकोनोमीको एजेण्डाबारे छलफल गर्न भारत तयार रहेको उल्लेख गर्दै उनले भने, “साझेदार मुलुकको विकास र समृद्धिकालागि पारवाहन, एयर कनेक्टीभिटीसँगै अब ब्लू इकोनोमीलाई उचित स्थान दिनुपर्छ, यस विषयमा छलफल गर्न भारत तयार छ ।” विश्व बैंकको अध्ययनअनुसार ब्लू इकोनोमीले सामुद्रिक सतहमा हुने गरेका स्थानीय स्रोत साधनलाई अधितमम प्रयोग गरेर व्यापारघाटा न्यूनीकरण गर्न सहयोग गर्ने उल्लेख छ । बिमस्टेकमा आवद्ध सबै मुलुकसँग नेपालको व्यापारघाटा कहालीलाग्दो छ ।
भारतले केही समय अध्ययन गरेर यो अवधारणाअनुसार विकास गर्न खोजेपनि आवश्यक स्रोतसाधन र जनशक्तिको अभावले अहिलेसम्म खासै विकास गर्न नसकेको जानकारहरू बताउँछन् । ब्लू इकोनोमीलाई सामुद्रिक अर्थतन्त्रसँग जोडिएका कारणले पनि सामुद्रिक भूबनोट भएका मुलुकहरूमा यसको अधिकतम उपयोग गर्न सकिने र त्यसले सबै मुलुकका जनताको शिक्षा, स्वास्थ्य र गरिबी निवारणमा समेत सहयोग पुग्ने विश्व बैंकको ठहर छ ।
यो व्यवस्थाको कार्यान्वयनमा तदारुकता देखाउन सकिएमा नेपाल र भुटानबाहेक सबै मुलुकले अधिकतम उपयोग गर्न सक्नेछन् । अाजकाे काराेबार दैनिकले खबर छापेकाे छ ।