काठमाडौँ, १० फागुन - सरकारले ३१ वैशाख ०७४ का लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । अबको ८२ दिनमा देशभर एकै चरणमा निर्वाचन गर्नेगरी मिति घोषणा भएको हो, आजको नयाँ पत्रिकामा खबर छ ।
द्वन्द्वकालमा पनि भए दुई निर्वाचन२०५४ को स्थानीय निर्वाचन : ०५२ सालमा सुरु भएको द्वन्द्व ०५४ सालसम्म सुरक्षाका लागि चुनौतीपूर्ण बन्दै गएको थियो । त्यसैले द्वन्द्वले अति प्रभावित भइसकेको मध्यपश्चिममा एक चरणमा र अन्य क्षेत्रमा अर्को चरणमा स्थानीय निर्वाचन भएको थियो । राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द नेतृत्वको एमालेसहितको गठबन्धन सरकार थियो । एमालेले स्थानीय निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गरेको थियो । जसको कार्यकाल २०५९ सालमा सकिएको थियो । त्यसयता स्थानीय निर्वाचन हुन सकेको थिएन ।

२०५६ को संसदीय निर्वाचन : ०५६ सम्म माओवादी नेतृत्वको जनयुद्ध ठूलै चुनौती बनेको थियो । त्यसैले संसदीय निर्वाचन दुई चरणमा गरिएको थियो । रुकुममा एमाले उम्मेदवार यदु गौतम माओवादीबाट काटिएका थिए । कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वमा दोस्रो ठूलो दल एमालेसमेत सहभागी भएर चुनावी सरकार गठन भएको थियो । कांग्रेसले ११४ र एमालेले ७३ सिट जितेका थिए भने वामदेव गौतम नेतृत्वको मालेले एक सिट पनि जित्न सकेन ।
दुई घोषित निर्वाचन हुन सकेनन्-देउवाले घोषणा गरेको संसदीय निर्वाचन : २०५९ मा स्थानीय निकायको कार्यकाल सकिए पनि निर्वाचन घोषणा भएन । त्यही वेला सत्तारुढ दल कांग्रेस विभाजित भयो र प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरे । तर, माओवादी चुनौतीका कारण निर्वाचन हुन नसक्ने भएपछि प्रधानमन्त्रीले दलीय सहमति गरेर मिति सार्न दरबारलाई सिफारिस गरे । तर, निर्वाचन गर्न नसक्ने अक्षम प्रधानमन्त्री भनेर राजा ज्ञानेन्द्रले देउवालाई बर्खास्त गरे ।
– डा. भट्टराईले घोषणा गरेको संविधानसभा निर्वाचन : चैत ०६४ मा निर्वाचित संविधानसभाले दुई वर्ष कार्यकाल थप्दा पनि संविधान बनाउन सकेन । दुईपटक म्याद थपिसकेपछि १४ जेठ २०६९ मा संविधानसभाको अवसान भयो । मध्यरातमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ७ मंसिरका लागि संविधानसभाको निर्वाचन घोषणा गरे । तर, दलहरूबीच विवाद हुँदा सो निर्वाचन हुन सकेन, पछि सर्वदलीय सहमतिमा खिलराज रेग्मीको सरकारले ०७० मा निर्वाचन सम्पन्न गरायो ।