०६ असार २०८३, शनिबार

‘स्त्री’ फिल्म समीक्षा : खासै तर्साउँदैन, अलिअलि हसाउँछ

‘स्त्री’ फिल्म समीक्षा : खासै तर्साउँदैन, अलिअलि हसाउँछ

काठमाडौं — शुक्रवार सार्वजनिक भएको हिन्दी फिल्म स्त्री साँचो घटनाबाट प्रेरित भएको बताइएको छ । आधुनिक युगमा भूतप्रेतमा विश्वास गर्ने मानिसको संख्या त घट्दैछ तर केही घटनाले भूतप्रेतको अस्तित्वमा विश्वास गर्न बाध्य बनाउँछन् । 

फिल्मका निर्देशक अमर कौशिकले हररका साथै कमेडी पनि मिसाएका छन् । फिल्मको शूटिङ भोपालमा गरिएको छ जहाँ कुनै एक पर्वका बेलामा राति स्त्री आउने अनि पुरुषलाई बोलाउने र बोलाइने पुरुषले जवाफ दिएमा उसलाई
लिएर जाने गरेको घटनाको चर्चा हुने गर्छ । त्यसैले पुरुषहरू ‘स्त्री भोलि आऊ’ भनी ढोकामा लेख्छन् र त्यो पढेर प्रेतनी स्त्री फर्किन्छे । 

फिल्ममा विक्की (राजकुमार राव) कपडा सिलाउने मानिस हुन् । एक दिन उनको भेट स्त्री (श्रद्धा कपूर) सँग हुन्छ । विक्की र उसकोसाथी बिट्टु (अपारशक्ति खुराना) मिलेर स्त्रीलाई फकाउने कोशिश गर्छन् । तर स्त्रीको असामान्य
व्यवहार देखेर उनीहरूमा आशंका उत्पन्न हुन्छ ।

उनीहरू रुद्रा (पंकज त्रिपाठी) नामक तान्त्रिककहाँ जान्छन् र उनले स्त्रीको वास्तविकता बताइदिन्छन् । 

फिल्ममा रमाइलो कमेडी छ र घरिघरि हसाउँछ । तर फिल्म लामो तन्काइएकाले झर्को पनि लाग्छ । हरर कमेडी भनिएको फिल्ममा हरर पुरानै पाराको छ – चर्को आवाज, रातको दृश्य आदि । 

राजकुमार रावले फिल्ममा राम्रो अभिनय गरेका छन् । उनी रोमान्स, हरर र कमेडी तीनै प्लेटफर्ममा उनी फिट देखिन्छन् । 

अभिषेक बनर्जी र अपारशक्तिको जोडीले कमेडीको पन्च हानेका छन् । 

श्रद्धा कपूरको पात्रले झुक्याउँछ तर उनले पनि राम्रै अभिनय गरेकी छन् । 

सुमित अरोडाको संवाद रमाइलो छ । 

तर समग्रमा फिल्म ठीकठीकै मात्र छ । यो सप्ताहान्तमा समय कटाउन तपाईंलाई गाह्रो भइरहेको छ भने स्त्री हेर्न जानुभए हुन्छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्