
काठमाडौं— १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेक सम्मेलन शुक्रवार सम्पन्न भयो । अध्यक्षको हैसियतमा नेपालले सम्मेलन सम्पन्न गरेर आफ्नो जिम्मेवारी पूरा गरेको छ ।
आयोजक राष्ट्रको हैसियतले नेपालले बिमस्टेकको सम्मेलन आयोजना गरेकोमा सबैले बधाई दिए । बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) बाट फाइदा लिन सके नेपालका लागि उपयुक्त क्षेत्रीय स्तरको मञ्च हो ।
लामो समयपछि नेपालमा यसप्रकारको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सन् २०१४ मा सार्क शिखर सम्मेलन सम्पन्न भएपछि आधा दर्जन मुलुकका सरकार र राष्ट्रप्रमुख नेपालमा आउनु नेपालका लागि गौरवको विषय हो । सम्मेलन सफल बनाउन सरकारले भरपूर प्रयास ग¥यो । यस किसिमको सम्मेलनको आयोजना गर्दा कूटनीतिक रूपमा मात्र होइन, पर्यटन प्रवर्द्धनमा समेत फाइदा पुग्छ ।
बिमस्टेकले आमजनतालाई खासै प्रभाव नपारेपनि विदेशी पाहुना आउँदा काठमाडौंका सडकका खाल्डा पुरिए, हिलो र धूलो पखालियो । परराष्ट्रविद् डा जयराज आचार्यले लोकान्तरसँगको प्रतिक्रियामा काठमाडौंको धूलो नियन्त्रण हुनु पनि एक प्रकारको उपलब्धि भनेर टिप्पणी गरे ।
सरकारको नालायकी र ठेकेदारको लापरवाहीका कारण देशको राजधानी ‘लाजधानी’ जस्तो भएको छ । विदेशी पाहुना आए भने मात्र सडकका खाल्डाखुल्डी पुरिने गरेको छ भन्ने सर्वसाधारणको बिलौना छ । जे होस्, अतिविशिष्ट पाहुनाका कारण सवारी आवागमन अवरुद्ध हुँदा सर्वसाधारण जनताले कष्ट र हैरानी बेहोर्नुपरे पनि सम्मेलन शान्तिपूर्ण रूपमा सम्पन्न भयो ।
सार्क या बिमस्टेक दुवै संगठनमा प्रभावशाली हैसियतमा रहेको भारत र पाकिस्तानको आपसी विवादका कारण पनि नेपालले यस्ता सम्मेलन आयोजनाको सौभाग्य पाउने गरेको छ । आशा गरौं, नेपालले अध्यक्षता हस्तान्तरण गरेर सम्मेलन हुन नसकेको सार्कको जस्तो नहोस् बिमस्टेकको नियति ।
बिमस्टेकमा पनि मोदी हावी !
सदस्य राष्ट्रको हैसियत बराबर भएपनि बिहीवार उद्घाटन सत्रमा भारतीय प्रधानमन्त्री मोदीले आश्वासनका पोका फाले — मानौं, भारत बिमस्टेकको दाताराष्ट्र हो ! दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विकल्पमा बिमस्टेकलाई अगाडि बढाउने मोदीको एजेन्डा हो ।
सार्कलाई डिफङ्क्ट गराएर बिमस्टेकलाई अगाडि बढाउने भारतीय एजेन्डा हो । आफ्नो प्रभुत्व जमाउन भारतीय रुचिमै सैन्य अभ्याससम्मका कुरा आएका छन् ।

नेपाल भने सार्कको विकल्पमा बिमस्टेकलाई अगाडि बढाउने पक्षमा छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सम्मेलन अगाडि संसदमा गरेको सम्बोधनमा पनि यो कुरा स्पष्ट पारिसक्नुभएको थियो । बिहीवार बिमस्टेकको उद्घाटन समारोहमा पनि ओलीको त्यही जोड थियो, बिमस्टेक सार्कको विकल्प नभई एकअर्काको परिपूरक हुन् ।
आफ्नो उद्देश्यविपरीत सैन्य अभ्यास गराउने कुराले बिमस्टेक विवादमा पर्न सक्छ । त्यस्तो सैन्य अभ्यास कसका विरुद्ध ? क्षेत्रीय शक्तिको रूपमा उदाउने भारतको चाहनामा हुन लागेको सैन्य अभ्यासलाई चीनले रुचाउने छैन ।
एकातिर बिमस्टेकमा शान्तिका संवाहक गौतम बुद्धको सर्किट बनाउने कुरा झिक्ने अनि अर्कोतिर सैन्य अभ्यासको चर्चा गर्ने भारतको यो नीतिमा विरोधाभास देखिन्छ ।
काठमाडौं बसाइका क्रममा मोदीले अरू पनि राजनीतिक लाभ लिए । उनले चीनसँग नजिकिँदै गएको श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र भुटानको अन्तरिम सरकारका सल्लाहकारसँग काठमाडौंमा द्विपक्षीय कुराकानी गरे ।
राम्रो सम्बन्ध रहेको थाइल्यान्ड र बंगलादेशका समकक्षीसँग पनि मोदीले काठमाडौंमा भलाकुसारी गरे । पशुपतिको यात्रा सिद्राको व्यापार भनेजस्तै मोदीका लागि यो राजनीतिक लाभको अवसर बन्यो ।
सन् २०१४ मा मोदी प्रधानमन्त्री निर्वाचित भएपछि भारतको छिमेक नीतिले फेल खाएको देखिन्छ भलै मोदीले ‘छिमेक पहिला’को प्रचार गरेका किन नहुन् ।
२०७२ सालमा नेपालले संविधान जारी गरेपछि भारतले लगाएको नाकाबन्दीका कारण उससँगको सम्बन्धमा लामो समय चिसोपना आयो । भारतमै नाकाबन्दीको चर्को विरोध भएपछि भारतले नाकाबन्दी अन्त्य ग¥यो । अहिले मोदीले विगतको तिक्तता मेटाउन हरसम्भव प्रयास गरिरहेका छन् । त्यसो त केही महिनाअघि भारतले माल्दिभ्समाथि समेत त्यस्तै खालको नाकाबन्दी लगाएको थियो ।
आफूसँग सिमाना जोडिएका देशमा चीनको बढ्दो प्रभावका कारण मोदी भारतमा आलोचित छन् । औपनिवेशिक कालको ह्याङ्ओभर भारतीय संस्थापन पक्षमा बाँकी रहेको अनि मोदीले त्यसलाई निरन्तरता दिएको भन्दै भारतमै पनि मोदीको विरोध भइरहेको छ ।
सन् २०१९ मा भारतमा हुने संसदीय निर्वाचन अगाडि सिमाना जोडिएका छिमेकी मुलुकसँग विश्वास बढाएर हिन्दू मत सोहोर्ने मोदीको रणनीति देखिन्छ । त्यसैले मोदीका मीठा आश्वासनमा नेपाल भुलिनु हुँदैन । खुला तथा समान व्यापारलाई भारतले स्थान नदिएसम्म समुद्रमा आधारित ‘ब्ल्यु’ अर्थतन्त्र स्थापनाको कुरा मोदीले गरेपनि यसले भारतलाई मात्र बढी फाइदा हुन्छ, अरू देशलाई खासै केही उपलब्धि हुँदैन ।