
पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उज्यालो प्रदेश बनाउन प्रदेश सरकार क्रियाशील रहेको बताएका छन् । उनले आउँदो पाँच वर्ष भित्र पानी, वायु र घामबाट ३ हजार मेगावाट बिद्युत् उत्पादन गर्न प्रदेश सरकारले प्रयत्न गर्ने बताए ।
प्रदेशका करिब १५ प्रतिशत घरमा हालसम्म पनि विद्युत सेवा नपुगेको र आगामी दुई वर्षभित्र सबै घरमा बिजुली पुर्याउने लक्ष्यसहित नीति तथा कार्यक्रममा समेत उज्यालो प्रदेश बनाउने विषय समावेश गरिएको उल्लेख गरे ।
शुक्रवार पोखरामा आयोजित ‘हाम्रो नेपाल, उज्यालो नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले केन्द्रमा शाखा महाशाखाको आवश्यकता नरहेको औल्याउँदै ‘४५ हजार कर्मचारी केन्द्रले के गर्छ ?’ भन्दै प्रश्न समेत गरे ।
उनले ढुंगा, गिटी, बालुवामा लगाउने कर, घरभाडा लगायतका कर स्थानीय सरकारलाई उठाउन दिने र सवारी साधनसँग सम्बन्धित कर प्रदेशले उठाउने बताउँदै आन्तरिक कर बढाउने नाममा धेरै स्थानीय तहले कर बढाएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल विधुत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले विद्युतको गुणस्तरको विषय प्रश्न उठ्नु अहिलेको मूख्य समस्या भएकोमा जोड दिए । उनले प्राविधिक कारणले विद्युत सेवा प्रवाह नहुनुलाई लोडसेडिङ भन्न नमिल्ने स्पष्ट पारे । घिसिङले विद्युतको खपत कसरी गर्ने भन्ने विषयमा सरकार गम्भीर रुपले लागेको उल्लेख गरे ।