
काठमाडौं -सिंहदबारकै नजिकै छ बागबजार । यसलाई निकै जनघनत्वको बजार मानिन्छ । तर मुलुकलाई पुनः युद्धमा धकेल्ने गरी आफ्नै छेउमा भएको सार्वजनिक महत्वको यति प्रशिक्षणबारे सिंहदरबार पत्तो पाउँदैन या पाएर पनि मौन छ ।
विप्लवका जिल्लातहदेखि पोलिटव्युरो स्तका नेता÷कार्याकर्तालाई पक्राउ जारी राखिएकै अवस्थामा विप्लव नेतृत्वको नेकपाले भने दुई तिहाईको सिंहदरबारलाई ठाडै चुनौती दिएको छ आन्तरीक रुपमा फौजी दस्ता तयार पार्ने निती अवलम्वन गरेर ।
सरकारले आफ्नो पार्टीका महासचिब नेत्रबिक्रम चन्द विप्लवसहितका नेतालाई पक्रन सर्कुलर जारी गरेको र प्रवक्तासहित अन्य नेता कार्यकर्तामाथि धरपकड गरी सार्वजनिक अपराध, चन्दालगायतका मुद्दा लगाउन थालिएकाले विद्रोहका लागि फौजि कार्यदिशासहित अघि बढ्ने योजना बनाइएको सो पार्टीका नेता मिसनले बताए ।
संसारमा कतिपय देशमा कम्युनिष्ट सरकारले नै कम्युनिष्टलाई सिध्याएको इतिहास रहेको र आफूहरूमाथि दमन गर्न थालिएकोले विद्रोह गर्नुको विकल्प नरहेको बताउँदै पूरा नाम नभन्ने शर्तमा ती नेताले भने–‘हाम्रो उद्देश्य एकीकृत जनक्रान्ति हो । यसका लागि बिद्रोह अबश्य हुन्छ । खाली हातले विद्रोह नहुने भएकाले सैन्य दस्ता तयार पार्न लागिएको हो ’
उक्त पार्टीले संविधानसभा निर्वाचन र नयाँ संविधान लेखन स्थापित भएको वर्तमान राज्यव्यवस्थालाई पनि संसदीय व्यवस्थाको संज्ञा दिँदै यसको अन्त्यका लागि अर्काे क्रान्ति अनिवार्य रहेको दावी गरेको छ । त्यसलाई उक्त पार्टीले एकीकृत जनक्रान्ति नाम दिएको छ । अाजकाे नेपाल समाचारपत्र दैनिकले खबर छापेकाे छ ।