काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (ने क पा) मा तल्लो तहका संगठन गठन नहुँदै समानान्तर कमिटी सिफारिस भएको छ । एकताका लागि गठन भएको कार्यदलले विधि, प्रक्रिया मिच्दै निषेधको राजनीति गरेको भन्दै असन्तुष्ट पक्षले समानान्तर कमिटी सिफारिस गरेको हो ।
काठमाडौं जिल्लामा समानान्तर कमिटी सिफारिस भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकटले एक्लौटी गर्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल निकटले समानान्तर कमिटी सिफारिस गरेको छ ।
काठमाडौं जिल्लामा रामशरण ढुंगाना अध्यक्ष हुने गरी कार्यदलमा सिफरिस भयो । तर सो कमिटीमा एकलौटी रूपमा संस्थापन पक्षले सिफारिस गरेको भन्दै असन्तुष्ट पक्षले सागर नेपालको अध्यक्षतामा समानान्तर कमिटी सिफारिस गरेको छ । दुवै समूहले १२५ सदस्यीय जिल्ला कमिटीको सिफारिस पार्टीमा गरेका छन् ।
प्रदेश ३ कार्यदलकी सदस्य अष्टलक्ष्मी शाक्यले दुवै कमिटी पार्टी सचिवालयमा बुझाएको बताइन् । कार्यदलमा छुट्टाछुट्टै आएको जिल्ला कमिटीको सिफारिस जस्ताको त्यस्तै पार्टी सचिवालयमा बुझाएको उनले बताइन् ।
‘काठमाडौंमा दुइटा कमिटीको सिफारिस आएपछि हामीले जस्ताको त्यस्तै पार्टी सचिवालयमा बुझाएका छौं,’ शाक्यले भनिन्, ‘काठमाडौंबाहेकका जिल्लामा सामान्य विवाद पनि देखिन्छ तर सबैको समाधान हुन्छ त्यति ठूलो देखिँदैन, पार्टीले सबै विवादको समाधान गर्दै सबैलाई जिम्मेवारी दिन्छ ।’
काठमाडौं, बाँके, अर्घाखाँची, दाङ, ललितपुर, भक्तपुर, रुपन्देही, मुगु, पाल्पा, रोल्पासहितका दर्जनौं जिल्लामा विवाद देखिएको छ । असन्तुष्ट पक्षका नेताहरुले पार्टी शीर्ष नेतालाई भेटेर समस्या समाधानका लागि अनुरोध गर्दै छन् । शीर्ष नेताले सबैलाई न्याय दिने भन्दै आश्वासन दिए पनि विवाद भने बढ्दो छ । राजधानी दैनिकमा खबर छापिएको छ ।