
काठमाडौं – एसीसी एसिया कप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत सिंगापुरविरुद्धको खेलमा नेपालले जीतका लागि १५२ रनको लक्ष्य पाएको छ ।
मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अलआउट हुँदै १५१ रन जोड्यो । उसका लागि चेतन रामचन्द्र सूर्यवंशीले सर्वाधिक ६० रन जोडे ।
सिंगापुरलाई मध्यम स्कोरमा रोक्ने क्रममा ललित राजवंशी र सन्दीप लामिछानेले समान ३, सोमपाल कामीले २ तथा वसन्त रेग्मीले १ विकेट लिए ।
यसअघि खेलेका तीनवटै खेलमा सिंगापुर पराजित भएको थियो । नेपालले भने एक खेल जित्दा दुई खेलमा हार बेहोरेको छ ।
नेपाल र सिंगापुरका अलावा ओमान, युएई, हङकङ र मलेसिया सहभागी प्रतियोगिताको विजेताले एसिया कप खेल्न पाउनेछ ।
एसियाकपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट मान्यता प्राप्त राष्ट्र सहभागी हुनेछन् ।