
विराटनगर – विराटनगर महानगरपालिकामा केही हप्ताअघि बम बिस्फोट गराउने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका कार्यालयमा गत साउन २७ गते दिउँसो २ बजे बम विष्फोट गराइएको थियो । विष्फोटमा संलग्नमध्ये १ जनालाई विराटनगरबाट र २ जनालाई सिरहा जिल्लाबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका तीनै जनालाई मोरङ प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
अभियुक्तले घटनामा संलग्नता रहेको स्वीकार गरिसकेको प्रहरीले बताएको छ । उनीहरूविरुद्ध विष्फोटन सम्बन्धी र ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता आभुषण तिम्सिनाले जानकारी दिए ।
मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएकाले २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताए । घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको हुन सक्ने प्रहरीले जनाएको छ ।
महानगरपालिकाको सीसीटीभी फुटेजमा घटनाको कुनै पनि कुरा रेकर्ड नभएका कारण विष्फोटमा संलग्नको पहिचान गर्न प्रहरीलाई समय लागेको हो । बजारको सुरक्षाका लागि महानगरपालिका कार्यालय बाहिर सडकमा राखिएको सीसीटीभी फुटेजमा कैद भएको दृष्यलाई आधार मानेर घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
सेवाग्राही बनेर झोला भिरेर मोटरसाइकलमा महानगरपालिका कार्यालयमा छिरेका एक व्यक्ति बाहिर निस्कँदा झोला नलिइकन निस्किएको कुरा बाहिरको सीसीटीभी फुटेजमा देखिएपछि घटनामा संलग्नलाई पक्राउ गर्न सकिएको प्रहरीले जनाएको छ ।