२३ असार २०८३, मंगलबार

श्रीकृष्ण जन्माष्टमी मनाइँदै, ‘कान्हा’ जन्मोत्सव तिथिबारे थारु समुदायमा अन्योल

भदौ १७, २०७५
श्रीकृष्ण जन्माष्टमी मनाइँदै, ‘कान्हा’ जन्मोत्सव तिथिबारे थारु समुदायमा अन्योल

धनगढी – हिन्दू धर्मावलम्वीले आइतवार विभिन्न मठ मन्दिरमा पूजाआजा गरी भगवान श्रीकृष्णको जन्मोत्सव मनाएका छन् भने पश्चिमा थारु समुदायले आजदेखि ‘अष्टिम्की’ पर्व भव्यताका साथ मनाइरहेका छन् ।

सुर्खेतदेखि पश्चिम कञ्चनपुर जिल्लासम्म बसोबास रहेका थारु समुदायले अष्टिम्की पर्व हर्षोल्लासपूर्वक मनाइरहेका छन् । तर, अष्टिम्की मनाउने तिथिमा अन्योल हुँदा थारु समुदायमा विभाजन पनि उत्तिकै देखिएको छ । बजारमा आएका विभिन्न खाले क्यालेन्डरमा पनि स्पष्टता नहुँदा एकथरिले आइतवार अष्टमीको ब्रत बसेका छन् भने अर्कोथरिले सोमवार ब्रत बस्ने तयारीमा छन् ।

तिथिमा गडबड

थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी भन्छन्, ‘सप्तमीको दिन कृष्णजन्माष्टमी भनेर नेपाली क्यालेण्डर लेखिएको छ । भारतीय क्यालेण्डरहरूमा अष्टमीको दिनमा कृष्ण जन्म अष्टमी लेखिएको छ । फलस्वरुप वर्ष, महिना तिथि, बार, गते, पल, फल, नक्षत्र आदिको खेती गर्नेहरूबीचमा नै मतैक्यता हुन नसक्दा न हिन्दू न बौद्ध हुन सकेका थारुहरूमा अन्यौलता देखिएको छ ।’ उनले १८ गते सोमवार अष्टमीको दिन अष्टिम्की मनाउनुपर्नेमा जोड दिए ।

साहित्यकार छविलाल कोपिलाले भदौ १७ गते मनाउने कि १८ गते मनाउनेबारे लाखौं थारुमा अन्योलता सिर्जना भएको बताए । उनी आफ्नो फेसबुक वालमा लेख्छन्, ‘पौराणिक पात्र कृष्णको जन्म भदौ कृष्णपक्षको अष्टमी तिथिमा भएको कुरा कृष्ण लिला र गाथाहरूमा उल्लेख छ । यही अनुरुप थारू समुदायमा अष्टमी तिथिकै दिन अष्टिम्की मान्ने परम्परागत चलन छ र लोक मान्यता पनि यही हो । अष्टमी अभ्रंश भएर अष्टिम्की भएको हो । यो कुरा पनि सबैलाई थाहा छ ।

यसकारण यो पर्व निर्विवाद रुपमा अष्टमी तिथिमा मनाउनुपर्छ भन्ने कुराको बलियो आधार हो । तर, यस बर्षको नेपाली पात्रोमा भदौ १७ गते सप्तमीको दिन कृ्ष्णाष्टमी भनी प्रकाशित भएकोले जनमानसमा ठूलो भ्रम मात्रै होइन, अन्यौल पनि सिर्जना गरेको छ ।’

२ दिन अष्टिम्की पर्व मान्नुपर्ने स्थिति लगभग निश्चित रहेको ठोकुवा गर्दै उनी यस्तो अन्योल अवस्थामा हामीले सष्टिम्की मान्ने कि अस्टिम्की ? गम्भीर प्रश्न छ रहेको उल्लेख गरे ।

अष्टिम्कीको मौलिकता

पृथक मौलिक चालचलन तथा संस्कृति बोकेको आदिवासी थारु समुदायमा भदौ १६ गते राति दर खाएका ब्रतालुहरू आइतवारदेखि सोमवारसम्म अष्टिम्की पर्व मनाइने छन् ।

थारु लोक संस्कृतिविद् अशोक थारुका अनुसार आइतवार दिनभरि ब्रत रहेका ब्रतालु महिला तथा युवतीहरू साँझपख घरको भित्तामा हातले कोरिएको विभिन्न पौराणिक चित्रमा टिक्ने अर्थात् पूजा गर्ने गर्दछन् । टिक्ने काम सम्पन्न भएपछि लगिएका फलफूलहरू आपसमा बाँधेर खाने प्रचलन रहेको छ ।

उनको अनुसार अष्टिम्कीको उत्पत्ति ‘अष्टमीटिका’बाट भएको हो । भगवान श्रीकृष्णलाई थारु भाषामा ‘कान्हा’ भनिन्छ । अष्टिम्कीको अर्थ भदौ महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकाले उनको टीका लगाउनु हो । ‘कान्हा’को जन्मदिनलाई थारु महिलाले विशेष रुपमा मनाउने हुनाले यस दिनलाई थारु समुदाममा अष्टिम्की भनिने प्रलचन रहिआएको छ ।

अष्टिम्कीमा ‘कान्हा’को जीवनीलाई भित्तामा चित्रको माध्यमबाट कोरेर चित्रण गरिन्छ । यसरी कोरिएको चित्रमा धुमधामसँग टीका, फलफूल, जल अर्पण तथा दीप प्रज्वलन गरी पूजा गरिन्छ । 

कसरी बनाइन्छ अष्टिम्की ?

ब्रतालु महिला आइतवार अष्टिमकीको पहिलो दिन बिहानै गाउँको भलमन्सा वा बडघरको घरको बहरी अर्थात् बैठक कोठाको उत्तरपट्टिको भागमा लिपपोट गरी चुनले रंगाई श्रीकृष्ण भगवानको चित्रलाई विशेष रुपमा सजाउँछन् । 

श्रीकृष्णको दाहिनेपट्टि सूर्य र बाँयापट्टि चन्द्रमाको चित्र बनाइन्छ भने दोस्रो लाइनमा सात भाई कौरवको चित्र बनाउने गरिन्छ । तेस्रो भागमा दुलाहादुलही, दुलहीलाई पठाउन जाँदा अवस्थाको ‘डोली’, दुलाहालाई पठाउन जाँदा अवस्थाको ‘डोला’, माछा, गंगटा, बाघ, हात्ती, मयुर, सर्प, बिच्छी, गाईलगायत विभिन्न चरा र जनावरको चित्र कोर्ने प्रचलन रहँदै आएको छ ।

यसरी श्रीकृष्ण भगवानको जीवनमा आधारित चित्र सजाइसकेपछि गाउँभरिका महिला तथा युवतीहरू नयाँ कपडा तथा परम्परागत लेहंगा, बिलाउज, चोलियालगायत पहिरनमा सजिएर लाइनबद्ध भएर अष्टिम्की टिक्न जाने बताउँछन् थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी । जुन अवस्था निकै रोचक र हेर्नलायक हुने बताउँदै संयोजक चौधरीले ब्रतालु महिलाले प्रसादको रुपमा काँक्रो, कुन्ढ्रु, आम्बालगायत फलफूल लैजाने गरेको बताए । जहाँ पूजा पश्चात् लगिएका फलफूल बाँडेर खाने गरिन्छ ।

रातभरि त्यही पूजा कोठामा पृथ्वीको उत्पत्ति, श्रीकृष्ण जन्म र लिला समेतिएको गीत गाउने समेत प्रचलन रहिआएको संयोजक चौधरीले बताए ।

अग्रासनको पर्खाइमा चेली

अर्को दिन पनि बिहानै ब्रतालु महिलाले अघिल्लो दिनझै टिक्ने गर्दछन् । तत्पश्चात् अघिल्लो र पछिल्लो दिन टिक्ने क्रममा लगिएका विभिन्न पूजा सामग्री नजिकको नदी, खोलामा सेलाउन जान्छन् । त्यहाँबाटै उनीहरू नुहाएर घर फर्कन्छन् ।

उता, घरमा ब्रतालु महिलाका परिवारजनले खरिया, फुलौरी, माछाको सुकुटी, आचारलगायत विभिन्न परिकार बनाएर तयार पारेका हुन्छन् । जुन परिकारलाई ती ब्रतालु महिलाले ‘फरहार’ गर्छन् । विभिन्न परिकारहरूको आधा भाग खानुभन्दा पहिलै टपरी तथा दुनामा छुट्याएर राख्नुलाई थारु समुदायमा फरहार भनिन्छ । फरहार पश्चात मात्रै ब्रतालु महिलाहरूले खाना खान्छन् । यसरी फरहारको क्रममा दुना र टपरीमा छुट्याएर राखिएका परिकारलाई आफ्नो विवाहित चेलीबेटीहरूलाई  अग्रासन (कोसेली) को रुपमा दिन जाने प्रचलन समेत रहँदै आएको छ ।

यसरी एकातिर, थारु समुदायमा अष्टिम्की पर्व असत्यमाथि सत्यको जीतको खुशीयालीको रुपमा मनाइन्छ भने अर्कोतिर, विवाहित चेलीहरूलाई अग्रासन दिन जाने प्रचलनले समाजमा भाईचाराको भावना जागृत गर्दै आएको थारु बृद्धिजीवीहरूको भनाई छ ।

salt training

कमेन्ट गर्नुहोस्