
काठमाडौं — चारा घोटालामा कारावास सजाय पाएका भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवको उपचार राँचीस्थित राजेन्द्र आयुर्विज्ञान संस्थानमा भइरहेको छ ।
अस्पतालमा कुकुर भुकेर लालु चिन्तित र क्रोधित छन् । कुकुर भुक्ने भएकाले राति आफू बारम्बार उठिरहनुपरेको उनको गुनासो छ । त्यसैले उनले अस्पतालको नयाँ पेइङ वार्डमा आफूलाई सारिदिन भनेका छन् ।
लालु अस्पतालको मुटुरोग विभागमा भर्ना गरिएका छन् । उक्त विभाग रहेको भवनको क्याम्पस खुला छ । अनि क्याम्सससँगै पोस्टमार्टम गर्ने घर पनि छ । त्यहाँ रातदिन भुस्याहा कुकुरहरू आइरहन्छन् ।
अस्पतालमा काम गर्ने एक कर्मचारीका अनुसार, राति त्यहाँ १० देखि २० कुकुर देखिन्छन् । कहिलेकाहीँ तिनीहरूको संख्या बढ्छ । तिनीहरू राति एकैचोटि भुक्छन् । त्यसले गर्दा रोगीहरूलाई समस्या हुन्छ ।
लालुका सहयोगी भोला यादवले अस्पतालको शौचालय पनि गनाउने खालको भएकाले लालुजीलाई समस्या भएको बताएका छन् । उनलाई पेइङ वार्डमा सारेमा उनको स्वास्थ्य छिट्टो ठीक हुने भोला बताउँछन् ।
‘पेइङ वार्डमा उहाँ आरामले टहल्न पनि सक्नुहुन्छ । हामी बरू पेइङ वार्डको पैसा दिन तयार छौं,’ उनले भने ।
लालुको मेडिकल रिभ्यु सोमवार हुनेछ ।
उनले बिहीवार अदालतमा आत्मसमर्पण गरेका थिए । बिहीवार र शुक्रवार उनको रगतको स्याम्पल जाँचका लागि बुझाइएको थियो । शनिवार केही जाँच रिपोर्टमा उनको शरीरमा संक्रमण भेटियो ।
एजेन्सी