
काठमाडौं– साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करीमा मुछिएका चेतन भण्डारी सञ्चालक रहेको चेन रेष्टुरेन्ट बाजेको सेकुवाका ६ वटा आउटलेटमा लगाइएको सिलबन्दी तोडिएको छ ।
सुन तस्करीको छानबिन गर्न गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेल नेतृत्वमा गठित समितिले ३० जेठमा लगाएको सिलबन्दी सर्वोच्च अदालतको अन्तिरिम आदेश पछि सोमवार तोडिएको हो ।
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलाशले गते बुधवार (भदौ १३ गते) बाजेको सेकुवाका शाखाहरुमा लगाइएको सिलवन्दी हटाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
सरकारले गरेको सिलवन्दीविरुद्ध चेतनकी पत्नी नीतिमा भण्डारीले गत भदौ १० गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)का मामा नाता पर्ने चेतन भनिने चेतनाथ भण्डारीले सञ्चालन गर्ने बाजेको सेकुवा पसलमा सुन प्रकरणको छानबिन समितिले गत जेठ ३० गते छापा मारी सिलबन्दी गरेको थियो ।
समितिले काठमाडौंका विभिन्न स्थानमा रहेका बाजेको सेकुवा कर्नरमा छापा मारी सिलबन्दी गरेको थियो । सुन तस्करीबाट आर्जित गरेको सम्पत्ति बाजेको सेकुवामा लगानी गरेको भन्दै समितिले पसलमा सिलबन्दी गरेको थियो ।
गृह मन्त्रालयको छानबिन समितिले गोरेका मामा नाता पर्ने चेतन पनि सुन तस्करीमा संलग्न रहेको भन्दै उनीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको छ । चेतन अहिले पनि फरार अभियुक्तको सूचीमा छन् ।
नेपाल प्रहरीले चेतनविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत रेडक कर्नर नोटिस जारी गरिसकेको छ ।