
काठमाडौं — जागिर खाने मानिसले पनि अनेक झन्झट सहनुपरिरहेको हुन्छ । प्रायः कार्यालयहरूमा ड्रेस कोड निर्धारित गरिएको हुन्छ । अफिस अवधिभरि ड्रेस कोड पालन गर्नुपर्ने हुन्छ ।
यो ड्रेस कोडले गुप्तांगलाई समेट्छ कि समेट्दैन ? सामाजिक सञ्जालमा एक महिलालाई ब्रा नलगाएको आरोपमा अफिसले निकालेपछि यो बहस जन्मेको हो । महिलाहरूले फ्री द निप्पल आन्दोलन चलाइरहेको बेलामा यस्तो घटना सार्वजनिक भएको हो ।
घटना क्यानडाको अल्बर्टाको हो । त्यहाँकी क्रिस्टिना शेलीलाई ब्रा वा अन्डरशर्ट नलगाएको आरोपमा जागिरबाट निकालिएको थियो । क्रिस्टिनाले दुई वर्षअघि ब्रा लगाउन छोडेकी हुन् । तर उनले काम गर्ने गल्फ क्लब रेस्टुराँमा टेबुलमा
सर्भ गर्दा महिला वेटरले ब्रा लगाउनु अनिवार्य छ ।
एक समाचार साइटसँग कुरा गर्दै क्रिस्टिनाले भनिन्, ‘यो वाहियात कुरा हो । मलाई आफ्नो अन्तर्वस्त्रका रूपमा के लगाऔं, के नलगाऔं भनी तपाईंले आदेश दिन मिल्छ ?’
पच्चीस वर्षीया क्रिस्टिनाले आफ्ना मालिक विरुद्ध मानवअधिकार उल्लंघनको उजुरी दिएकी छन् । रेस्टुराँमा महिलालाई लगाइएका प्रतिबन्धहरू पुरुषलाई चाहिँ नलगाइएको उनको भनाइ छ ।
‘यो लैंगिक भेदभाव हो र मानवअधिकारसँग जोडिएको विषय हो । महिलाको मात्र निप्पल्स हुँदैन, पुरुषको पनि हुन्छ,’ उनले भनिन् ।
एजेन्सी