
काठमाडौं — चक्रवाती तुफान जेबी मंगलवार दिउँसो जापानको पश्चिमी तटमा ठोकिएको छ । जापानको मौसम विभागका अनुसार, यसलाई २५ वर्षको सबभन्दा चर्को चक्रवाती तुफान मानिएको छ ।
अहिले त्यस क्षेत्रमा १६२ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलिरहेको छ जसले गर्दा समुद्रमा अग्ला लहर उठे । हावाको गति अझै बढ्न सक्छ ।
भारी वर्षा र पहिरोको चेतावनी जारी गरिएको छ । लगभग तीन लाख मानिसलाई सुरक्षित स्थानमा जानका लागि सल्लाह दिइएको छ ।
खबरहरूका अनुसार, कन्साई विमानस्थलमा पानी भरिएका कारण विमानसेवाहरू रोकिएका छन् । देशभरि लगभग ५०० उडान रद्द गरिएका छन् ।
ओसाका र हिरोशिमाबीच चल्ने स्थानीय हाईस्पीड ट्रेन सेवा पनि रोकिएको छ । ओसाकामा पर्यटनस्थल युनिभर्सल स्टुडियोको थिम पार्क आज दिनभरिका लागि बन्द गरिएको छ ।
जेबी चक्रवात होन्शू टापुतिर गइरहेको छ । त्यहाँ पुगेर यसको गति मन्द हुने सम्भावना छ ।
राजधानी टोक्योमा तुफानका कारण भारी वर्षा र तीव्र हावा चल्ने चेतावनी जारी गरिएको छ ।
स्कूलहरूमा छुट्टी दिइएको छ ।
जापानमा हरेक वर्ष तुफान आउँछन् । केही महिनाअघि जापानमा बाढी आउँदा २०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
एजेन्सी