काठमाडौं — लियोनेल मेस्सीले आफ्नो फूटबल करीयर बार्सिलोना क्लबबाटै अन्त्य गर्न चाहेको बताएका छन् । ला लिगा उपाधिविजेता क्लबबाट बाहिरिनु जटिल रहेको उनको भनाइ छ ।
एकतीस वर्षीय मेस्सीले सन् २०२१ को मध्यसम्म क्याम्प नूमा सम्झौता गरेका छन् । उनले गत वर्ष मात्र क्लबसँग सम्झौता नवीकरण गरेका हुन् ।
मेस्सीले यस सीजनमा चार गोल गरिसकेका छन् ।
सोमवार रेडियो क्याटालुन्यासँग कुराकानी गर्दै मेस्सीले भने, ‘बार्सिलोनामै बसिरहने विचार छ । मेरो परिवार यहीँ सेटल भइसकेको छ । अब परिवर्तन गर्दा झन्झटिलो र जटिल हुन्छ ।’
सम्झौता सकिने बेलामा अर्को कदमका बारेमा सोच्ने मेस्सीले बताए । त्यतिखेर उनी ३४ वर्षका हुनेछन् ।
आफूले किशोरवयदेखि खेलिरहेको क्लब छोड्ने कुनै कारण नरहेको यी सुपरस्टार खेलाडीको भनाइ छ ।
‘मसँग यहाँ सबै थोक छ । म १३ वर्षको हुँदादेखि बार्सिलोनामा छु । यो संसारको सर्वोत्कृष्ट टीम हो र बार्सिलोना संसारकै सबभन्दा राम्रो शहरमध्ये एक हो । मेरा बालबच्चा क्याटालोनियामा जन्मेका हुन् र मैले कतै जानुपर्ने आवश्यकता छैन ।’
गोल डट्कमबाट