०२ असार २०८३, मंगलबार

भत्कियो पर्खाल, विद्यालयमा बेहाल

भदौ १९, २०७५
भत्कियो पर्खाल, विद्यालयमा बेहाल

सुर्खेत – दैलेख जिल्लाको पश्चिममा पर्ने आठबीस नगरपालिकास्थित खडकागडेनमा रहेको शिव प्राविमा बनाइएको पर्खाल पूर्णरुपमा भत्किएको छ ।

आठबीस नगरपालिकाले विद्यालयको पर्खाल उठाउन उपभोक्ता समितिमार्फत् १२ लाख रुपैयाँ खर्चेको थियो । निर्माण कार्य पूरा भएको भन्दै नगरपालिकाले भुक्तानी समेत दिएको २ महिनामै दिवाल पूर्णरुपमा भत्किएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु पुरीले काम राम्रो भएपनि बढी पानी परेका कारण पर्खाल भत्किएको बताए । उनका अनुसार निर्माण कार्य बैशाख १५ गते सकिएको थियो । ८० मिटर लम्बाई र ४ मिटर उचाई भएको जाली सहितको पर्खाल उठाइएको थियो ।

पर्खाल निर्माण सम्पन्न भएपनि वर्षात्मा आएको पानीले पुरानो पर्खालसहित नयाँ पर्खाललाई  ढलाइ दिएको छ । जसका कारण विद्यार्थीलाई खेलकुद, अतिरिक्त क्रियाकलाप गर्न समस्या भएको स्थानीय भरत थापाले बताए । 

‘विद्यालयको पूरै फिल्ड ढलेपछि हामीलाई विद्यार्थीलाई लाइन लगाउन, अन्य क्रियाकलाप गर्न असहज भएको छ,’ उनले भने, ‘उतिबेला नगरपालिकाले १२ लाख रकम सहयोग गरेका कारण राम्रो भएपनि अहिले विद्यालयको अवस्था बेहाल भएको छ ।’

प्रधानाध्यापक रामनाथ योगीले विद्यालयको फिल्ड निर्माणमा दाताको सहयोगको अपेक्षा गरेको बताए । ‘पर्खाल भत्किएका कारण विद्यालय फिल्डविहीन बनेको छ,’ उनले भने, ‘हामी हाम्रो विद्यालयको पर्खाल निर्माण गरिदिने दाताको खोजीमा छौं ।’ उनले नगरपालिकाबाट यो वर्ष पनि पर्खाल उठाउन सहयोग पाउने अपेक्षा गरेको उनको भनाई छ ।

salt training

कमेन्ट गर्नुहोस्