
पोखरा –राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले भौतिक संरचनाका कारण नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) प्रभावित नहुने बताएका छन् ।
खेलकुद पत्रकार मञ्च कास्कीद्वारा बुधवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सागलाई भव्यताका साथ सम्पन्न गर्न सरकारले पूर्वाधार निर्माणलगायतमा आवश्यक रकम विनियोजन गर्नुपर्ने बताए । पूर्वाधार र राज्यको राम्रो सहयोग नभएको अवस्थामासमेत पाराग्लाइडिङका खेलाडीले एशियाली खेलकूद प्रतियोगतामा पदक हासिल गर्न सफल भएको उनको भनाइ छ ।
आगामी नोभेम्बरमा पोखरामा हुने अन्तर्राष्ट्रिय पाराग्लाइडिङ च्याम्पियन प्रतियोगिताअन्तर्गत सराङकोटमा आवश्यक पूर्वाधार तयार गर्न ३० लाख रुपैयाँ विनियोजन गरिएको सदस्य–सचिव विष्टले जानकारी दिए ।
उनले देशको गरिमासँग प्रत्यक्ष जोडिएको खेलकूदलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । आगामी सागमा पोखरामा छ वटा खेल सञ्चालन गर्ने भनिएपनि पाराग्लाइडिङसहित सात वटा खेल सञ्चालनको सम्भावना रहेको सदस्य–सचिव विष्टको भनाइ छ ।
सागको तयारीस्वरुप हालसम्म पूर्वाधार निर्माणमा दुई अर्बभन्दा बढी लगानी भइसकेको र उक्त प्रतियोगितालाई लक्षित गरी पोखरामा एक अर्ब २९ करोडको लगानीमा सुविधा सम्पन्न रंगशाला निर्माणको प्रक्रिया अघि बढेको उनले उल्लेख गरे ।