
काठमाडौं — पाकिस्तानका प्रधानमन्त्री इमरान खानका संसदीय मामिला सल्लाहकार बाबर अवानले मंगलवार पदबाट राजीनामा दिएका छन् । आफूविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएपछि उनले राजीनामा दिएका हुन् ।
इमरान सरकारका लागि यो पहिलो झड्का हो । पद छोड्दै अवानले ट्वीट गरे, ‘संसदीय मामिला मन्त्रालयबाट राजीनामा दिन म प्रधानमन्त्री आवास गएको थिएँ । विधिको शासन मबाट शुरू हुन्छ ।’
खानका निकट सहयोगी अवानविरुद्ध नन्दीपुर परियोजनामा ढिलाइ गरेको आरोपमा राष्ट्रिय जवाफदेहिता ब्युरोले इस्लामाबादस्थित अदालतमा मुद्दा दर्ता गरेको थियो ।
जियो न्युजका अनुसार, आइतवार यस मामिलामा अवानसँग तीन घन्टा सोधपुछ गरिएको थियो ।
केन्द्रमा सन् २००८ देखि २०१३ सम्म पाकिस्तान पिपुल्स पार्टीको सरकार हुँदा यस परियोजनामा ढिलाइ भएको थियो र अवान त्यतिखेर कानून तथा न्यायमन्त्री थिए ।
एजेन्सी