
काठमाडौं – प्रमुख सत्तारुढ दल नेकपाका एक प्रभावशाली नेताले बिमस्टेक सदस्य राष्ट्रबीच हुने सैनिक अभ्यासमा सहभागी भए नेपालले ठूलो क्षति बेहोर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बुधवार बसेको बैठकको विशेष समयमा नेकपाका सांसद एवं पूर्व गृह र रक्षामन्त्री समेत रहेका भीम रावलले नेपालले त्यस्तो सैन्य अभ्यासमा सहभागी हुन नहुने बताएका हुन् ।
‘जसरी हिजो प्रधानमन्त्री केपी ओलीले संसदमा बिमस्टेको सन्दर्भमा स्पष्ट पार्ने कुरा गर्नुभयो । सैनिक अभ्यासको कुरा छैन भन्नुभएको छ, उहाँको त्यही कुरा व्यवहारमा रूपान्तरित होस्, भन्ने कामाना गर्न चाहन्छु,’ रावलले संसदमा भने, ‘क्षेत्रीय संगठन मार्फत् सैनिक अभ्यासमा प्रवेश गर्ने काम गरेमा नेपालले दीर्घकालीन, रणनीतिक, राजनीतिक, कूटनीतिक क्षेत्रबाट ठूलो क्षति बेहोर्ने स्थिति हुन्छ ।’
नेता रावलले बिमस्टेकका बोला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानसेनापति सहितको विशेष बैठक बस्ने र सैनिक अभ्यासको कुरा गरे पनि त्यस्तो काममा नेपाल सहभागी हुन नहुने उनले बताए ।
‘नेपालको भूराजनीति, छिमेकको विशाल अवस्था र आजको बदलिँदो विश्व परिवेशमा, दोस्रो विश्वयुद्धमा स्वीजरल्यान्डले असंलग्न भएर अगाडि बढेको कुरा स्मरण गर्नुपर्छ,’ रावलले भने, ‘समाजको लोकतान्त्रिकरणको कुरा गरेका बेला कूटनीतिमा पनि लोकतान्त्रिकरण हुन्छ, स्वाधीन देशले संगठनको चरित्र अनुसारको काम मात्र गर्नुपर्छ ।’
यसअघि मंगलवारको बैठकमा प्रधानमन्त्री ओलीले सैन्य अभ्यासको कुरा नभएको र सैनिक तालिमको कुरा भएको प्रष्ट पारेका थिए ।
भारतीय विदेश मन्त्रालयको वेबसाइटमा सैन्य अभ्यासको कुरा लेखिएको उल्लेख गर्दै रावलले बिमस्टेक होस् या सार्कमा होस् संवेदनशील राजनीतिक अवस्थालाई बिर्सेर नेपाल कुनै प्रकारको सैनिक अभ्यासमा सहभागी हुन नहुने बताए ।