
काठमाडौं — भारतको हैदराबादमा हीरामोती समेत जडिएको सुनको लन्चबक्स चोरी भएको छ ।
लन्चबक्स बाहेक हैदराबादका अन्तिम निजाम मीर उस्मान अली खानको नीलम जोडिएको चियाको प्याला, पिलेट र चम्चा पनि चोरी भएको छ ।
चोरिएको सामानको भार तीन किलोग्राम छ र यसको मूल्य ८० करोड रुपैयाँ भएको बताइएको छ ।
प्रहरीले चोरीको बारेमा सोमवार बिहान थाहा पायो । अघिल्लो राति बहुमूल्य सामान चोरिएको प्रहरीको आशंका छ ।
सबै सामान निजाम संग्रहालयबाट चोरी भएको हो । यो संग्रहालय पहिला निजामको महल थियो ।
दश वर्षअघि शाही परिवारको एक तरवार पनि शहरको अर्को संग्रहालयबाट चोरिएको छ ।
प्रहरीले यस घटनामा दुईजनामाथि शंका गरेको छ ।
चोरहरूले संग्रहालयको सीसीटीभी क्यामरालाई बिगारेको र रेकर्डिङ हुन नदिएको प्रहरीले बतायो ।
शीशाभित्र सामान राखिएको र त्यो शीशा नफुटाइकन मसिनो गरी काटेर सामान बाहिर लगिएको थियो ।
निजाम संग्रहालय सन् २००० मा जनताका लागि खोलिएको थियो । यस संग्रहालयमा मीर उस्मान अली खानले सन् १९६७ मा पाएको बहुमूल्य उपहार पनि राखिएको छ । त्यही वर्ष निजामको मृत्यु भएको थियो ।
निजामसँग बहुमूल्य गहनाहरू थिए । अण्डाको आकारको जेकब हीरा पनि त्यसमा पर्छ ।
बीबीसी हिन्दीबाट