
विराटनगर– बजारमा पाइने मिनरल वाटरकाे गुणस्तरमा प्रश्न उठ्न थालेपछि प्रदेश सरकारले झापाका पानी उद्योगमा निगरानी बढाएको छ ।
विभिन्न ठाउँमा खुलेका पानी उद्योगले बजारमा पठाएका पानीको गुणस्तरमा प्रश्न उठ्न थालेपछि प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले पानी उद्योगहरुको अनुगमन गरेको हो । बुधवार झापाका विभिन्न स्थानमा सञ्चालित पानी उद्योगहरुमा अनुगमन गरी मापदण्डविपरीत सञ्चालनमा रहेका २ वटा उद्योगलाई सिलबन्दी गरिएको छ ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेको नेतृत्वमा गरिएको अनुगमनमा झापा बुधबारेको जिरो अक्वा, र बिर्तामोडको गोर्खा मिनरल वाटर उद्योगमा सिल गरिएको हो । ती उद्योगहरुले खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयको लाइसेन्सबिनै पानी उत्पादन गरी बिक्री वितरण गरेकाले उद्योगमा सिल गरिएको सामाजिक विकास मन्त्रालयका उपसचिव गोपी घिमिरेले बताए ।
अनुगमन टोलीले झापाको बिर्तामोड, अर्जुनधारा, बुधबारे र मेचीनगरका ८ वटा पानी उद्योगमा अनुगमन गरेको थियो । टोलीले अनुगमनका क्रममा धेरैजसो उद्योगहरुलाई सुधारका लागि सुझाव दिएको छ । ल्याव टेस्टबाट पानी पिउन अयोग्य भएको प्रमाणित भएमा कारबाहीको दायरामा ल्याइने मन्त्री घिमिरेले बताए ।
मन्त्रालयले प्रदेश एकका अन्य पानी उद्योगहरुको अनुगमनसमेत निरन्तर गर्ने जनाएको छ ।