
महेन्द्रनगर – राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको अनुसन्धान प्रक्रियासंगत नरहेको निष्कर्ष निकालेको छ ।
घटनालाई शीघ्र अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउनुपर्नेमा शुरूवाती अवस्थामा नै कञ्चनपुर प्रहरीले अनुसन्धान कार्यमा प्रक्रिया मिचेको निष्कर्ष निकालेको हो । बिहीवार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा आयोगकी प्रवक्ता मोहना अन्सारीले प्रमाण संकलनमा प्रहरीले कमजोरी गरेको बताइन् ।
घटनाको स्थलगत अध्ययन, पीडित परिवार, पक्राउ परेका परिवारका सदस्य र व्यक्तिसँग आयोगले भेटघाट गरेको बताउँदै प्रवक्ता अन्सारीले अनुसन्धानका नाममा प्रहरीले केही नागरिकलाई गैरकानूनी थुनामा राखेको भन्दै आपत्ति समेत जनाइन् ।
आयोगद्वारा जारी विज्ञप्ति अनुसार पछिल्लो समय महिलामाथि हुने हिंसा बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा आयोगको ७ नम्बर प्रदेश कार्यालयमा न्याय नपाएको महिला हिंसा सम्बन्धी २० उजुरी परेका छन् । एक वर्षको अवधिमा ९७ बलात्कार, २ सय २८ आत्महत्या, २६ मानवबेचबिखनका घटना भएको जनाइएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले शुक्रवारदेखि कञ्चनपुरबाट महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षण सम्बन्धी राष्ट्रिय अभियान शुरू गर्दैछ । आयोगले नेपाल प्रहरीसँगको सहकार्यमा ‘महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको जवाफदेहिता’ विषय राष्ट्रिय सम्मेलन गरिरहेको हो ।
