
गोरखा–पूर्वयुवराज्ञी हिमानी शाहको नेतृत्व रहेको 'हिमानी ट्रस्ट'ले २०७२ बैशाख १२ गते गएको भूकम्पले ध्वस्त बनेको गोरखाको एक विद्यालयको पुनर्निर्माण गरेको छ ।
ट्रस्टले जापानी संस्था बुद्धिस्ट अर्गनाइजेसन जोडोसँगको सहकार्यमा पालुङटार नगरपालिका वडा नम्वर ५ मा अवस्थित भवानी मावि पुननिर्माण गरेको हो ।
पुनर्निर्माण सकिएपछि विद्यालयको ८ कोठे भवनको हिमानी ट्रष्टकी संरक्षक कोमल शाहले बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिन् ।
उद्घाटन कार्यक्रममा पूर्वयुवराज पारस समेत पुगेका थिए । विरलै हिमानी र पारस एकै कार्यक्रममा देखिने गरेकोमा बिहिबार एकसाथ देखिए ।
सो क्रममा पारस र हिमानीबीच केहीबेर कुराकानी समेत भएको बताइएको छ । यद्यपी दुवै जना कार्यक्रममा सहभागी हुन काठमाडौंबाट छुट्टाछुट्टै पुगेका थिए ।
पारस बिहिबार काठमाडौंबाट हेलिकप्टर चढेर पालुङटार पुगेका थिए । यस्तै हिमानी भने सासू कोमल शाहसहित बुधाबारै काठमाडौंबाट मुग्लिनस्थित एक रिसोर्टमा बसेर बिहान पालुङटार पुगेकी थिइन् ।
४ करोड ९५ लाख रुपैयाँको लागतमा विद्यालय पुनर्निर्माण गरिएको बताइएको छ ।