२४ जेठ २०८३, आइतबार

विज्ञता र इमान्दारीले भरिपूर्ण कर्मचारी प्रशासन लोकतन्त्रको जग : प्रधानमन्त्री ओली

विज्ञता र इमान्दारीले भरिपूर्ण कर्मचारी प्रशासन लोकतन्त्रको जग : प्रधानमन्त्री ओली

काठमाडौं–  ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ शुक्रवार देशभर निजामती दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । १५ औं निजामती दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री के.पी. शर्मा ओलीले नागरिकको घरदैलोमा गुणस्तरीय सेवा प्रवाहलाई सुनिश्चित गर्न राष्ट्रसेवक कर्मचारीसँग आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सूचना प्रविधिको अधिकतम उपयोग गरेर सक्षम र परिणाममुखी सेवा प्रवाह गर्न निजामती कर्मचारीलाई अपिल गर्नुभयो । शुभकामना सन्देशमा ओलीले सरकार र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन निजामती सेवाको भूमिका अहम हुने बताउनुभएको छ । 

प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘स्वप्नदर्शी राजनीतिक नेतृत्व र व्यावसायिक कौशल, विज्ञता र इमान्दारीले भरिपूर्ण कर्मचारी प्रशासन लोकतन्त्रको जग हो । नेपाली जनताले यस्तै जगमा खडा भएको आदर्श र समग्र लोकतन्त्रको परिकल्पना गरेका छन् ।’ 

यसैगरी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनताको बढ्दो आवश्यकता र अपेक्षालाई राष्ट्रको उपलब्ध स्रोत साधनको विवेकपूर्ण उपयोगमार्फत सम्बोधन गर्न नेपालको निजामती प्रशासन प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । 

मन्त्री पण्डितले दिनुभएको शुभकामना सन्देशमा राष्ट्रको समृद्धि र साधनको अधिकतम उपयोग गर्दै मुलुकको तीव्र सामाजिक तथा आर्थिक विकासमा निजामती कर्मचारीलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । 

नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले निजामति कर्मचारीले प्रवाह गर्ने सेवाबाट निजामती प्रशासनको छवि उज्यालो हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘विगतबाट पाठ सिक्दै नवप्रवर्तन शैलीमा अझ उच्च मनोबलका साथ काम गर्नेतर्फ सबै एक भई अग्रसर हुनु जरुरी छ, यस तथ्यलाई ध्यान दिँदै आ–आफ्नो ठाउँबाट सिर्जनशील सक्रियता देखाउन सम्पूर्ण निजामती साथीलाई अपील गर्दछु ।’’

salt training

कमेन्ट गर्नुहोस्