०५ असार २०८३, शुक्रबार

निर्मला हत्याकाण्ड : अधुरो प्रतिवेदन बोकेर काठमाडौं फर्किंदै उच्चस्तरीय टोली, ‘प्रहरीबाट गम्भीर लापरवाही’

भदौ २२, २०७५
निर्मला हत्याकाण्ड : अधुरो प्रतिवेदन बोकेर काठमाडौं फर्किंदै उच्चस्तरीय टोली, ‘प्रहरीबाट गम्भीर लापरवाही’

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे छानविन गर्न गठिन उच्च स्तरीय छानबीन टोली शनिवार काठमाडौं फिर्ता हुँदैछ ।

१५ दिनभित्र छानविन प्रतिवेदन बुझाइसक्नुपर्ने समय सीमा पाएको गृह मन्त्रालयका उपसचिव हरिप्रसाद मैनाली संयोजत्कत्वको टोलीले भदौ ८ गतेदेखि छानबीन थालेको थियो । तर, समितिले अपूरो प्रतिवेदन लिएर शनिवार काठमाडौं फिर्ता हुने तयारी छ ।

शुक्रवार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक मैनालीले कञ्चनपुर घटनामा मुछिएका प्रहरी अधिकारी सबै केन्द्रमा तानिएका हँुदा उनीहरूसँग पनि शोधपुछ गर्न बाँकी रहेकाले शोधपुछ गरेर प्रतिवेदनलाई अन्तिम रुप दिने बताए ।

‘घटनामा यहाँका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट, प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक यकिन्द्र खड्कालगायत प्रहरी अधिकारीहरू केन्द्रमै तानिएका छन् । उनीहरूसँग शोधपुछ गरेर मात्रै प्रतिवेदनलाई अन्तिम रुप दिन्छौं,’ संयोजक मैनालीले भने । अझै ३–४ दिन प्रतिवेदन लेखनमा समय लाग्ने बताउँदै संयोजक मैनालीले त्यसपछि मात्रै सरकारलाई प्रतिवेदन बुझाउने जानकारी दिए ।

राष्ट्रिय मानवअधिकार आयोगको जस्तै उच्च स्तरीय छानबीन टोलीले पनि घटनाको अनुसन्धानमा प्रहरीको चरम लापरवाही गरेको ठहर गरेको छ । ‘हामीले १५ दिनसम्ममा सबै पक्षसँग बस्यौ । उनीहरूको विवरण लियौ । आन्दोलन किन भयो ? प्रहरीले बल किन प्रयोग गर्यो ? लगायत विषयवस्तुमा रहेर छानबीन गर्यौं,’ उनले अगाडि थपे, ‘वास्तवमा प्रहरीले घटनाको प्रारम्भिक चरणमा गम्भीर लापरवाही गरेकै हो । प्रहरीले भदौ ८ गते गोली चलाउनुपर्ने कुनै आवश्यकता नै थिएन । प्रहरीले आत्तिएर गोली चलाएको हो । अन्ततः प्रहरीको गोली लागेर शनि खुनाले ज्यान गुमाए ।’

घटनालाई उत्तेजित पार्नुमा सामाजिक सञ्जाल प्रयोगकर्ताको पनि ठूलो हात रहेको समितिको ठहर छ । घटनाबारे आएको विभिन्न अनर्गल, भ्रामक र उत्तेजित पार्ने सामग्रीले पनि उत्तेजना फैलिएको समितिको भनाई छ । प्रहरीले अझै अनुसन्धान जारी राखेको बताउँदै संयोजक मैनालीले अपराधी पत्ता लगाउने अन्तिम तथा मुख्य जिम्मेवारी पनि प्रहरीकै रहेको उल्लेख गरे । तर, न्याय पाउने कुरामा कुनै आशंका गर्ने ठाउँ नभएको उनको भनाई छ ।

यसैबीच, शुक्रवार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि कञ्चनपुरमै रहेका छन् । हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन पुगेका प्रहरी महानिरीक्षक खनालले निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भएपनि उन्मुक्ति नमिल्ने बताए । केही ढिलो भएपनि अपराधीलाई कानूनी दायरामा ल्याएरै छोड्ने दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्