
काठमाडौं — सिरियाको सरकारी सेनाले इद्लिबमा रासायनिक हतियार प्रयोग गर्ने तयारी गरेको महत्त्वपूर्ण प्रमाण भएको अमेरिकाले दाबी गरेको छ । सिरियाली क्षेत्रको भाग्य निर्धारणका लागि तेहरानमा रुस, इरान र टर्कीको भेटघाट हुने पूर्वसन्ध्यामा अमेरिकाको भनाइ सार्वजनिक भएको हो ।
टर्कीका राष्ट्रपति रेचेप तय्यप अर्दोआनले सिरियाली सरकारलाई विपक्षीको कब्जामा रहेको अन्तिम क्षेत्रमाथिको आक्रमणबाट पछि हट्नका लागि रुसले दबाब दिनुपर्ने बताएका छन् । उक्त आक्रमण भएमा रक्तपात मच्चिने वा
सिरियाली शरणार्थीहरू टर्कीमा ओइरिने सम्भावना रहेको उनको भनाइ छ ।
विद्रोही समूहलाई उक्त क्षेत्र छोडेर जाने अवसर दिने योजना अर्दोआनले प्रस्ताव गरेका छन् । उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति हसन रूहानीसँग भेटघाट गर्नेछन् ।
यी तीन नेताले पुनर्निर्माण, शरणार्थीको घरफिर्ती र सिरियामा कुर्दहरूको भविष्यका योजनामा पनि छलफल गर्नेछन् तर वार्ताको जोड चाहिँ इद्लिबलाई बलपूर्वक नियन्त्रण गर्नमा सिरियाली सरकारको प्रयासलाई सघाउने रुसको निश्चयमा छ ।
सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेषदूत स्टाफान दे मिस्तुराले पनि रुसलाई पछि हट्न र जेनेभामा वार्तामा फर्कन आग्रह गरेका छन् । अर्को हप्ता सिरियाको भविष्यमा बन्ने संविधानको बारेमा कुराकानी जेनेभामा उनैले आयोजना गर्न लागेका छन् ।
सिरियाका लागि अमेरिकाका नयाँ दूत जिम जेफ्रीले रासायनिक आक्रमणको सम्भावनाको चेतावनी दिएका हुन् । अमेरिकाले लगातार रासायनिक आक्रमणलाई नसहने बताएपनि त्यसो गरिएमा कस्तो प्रतिक्रिया दिने भनी बताएको छैन ।
द गार्डियनबाट