काठमाडौं — चारा घोटाला मुद्दामा कारावास सजाय भोगिरहेका बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादव अहिले राँचीस्थित राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल सायन्सेजमा उपचार गराइरहेका छन् ।
पहिला मुटुमा समस्या भएको गुनासो गरेका लालुलाई डिप्रेसन र उच्च रक्तचापका कारण चिकित्सकीय निगरानीमा राखिएको छ । डा आरके श्रीवास्तवका अनुसार, लालुलाई डिप्रेसन भएपनि उनको स्वास्थ्यस्थितिका बारेमा चिन्ता गर्नुपर्दैन ।
अस्पतालमा लालुको स्याहार गर्न अस्पताल प्रशासनले मनोचिकित्सकको सहायता पनि लिन सक्ने सम्भावना छ । तर यसको आधिकारिक जानकारी दिइएको छैन ।
आइतवार जारी मेडिकल बुलेटिनअनुसार, लालुको शरीरमा भिटामिन डीको कमी छ । उनको गोडामा घाउ छ र सुन्निएको छ जसले गर्दा उनलाई हिँडडुल गर्न गाह्रो भइरहेको छ ।
यसबीच लालुले रातभरि कुकुरले भुक्ने गरेका कारण सुत्न नसकेको अनि लामखुट्टे धेर लागेर डेंगु हुने खतरा रहेको भनी गुनासो गरेका छन् ।
एजेन्सी