
काठमाडौं — इजिप्टको अदालतले सन् २०१३ मा पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको समर्थनमा भएका हिंस्रक प्रदर्शनमा भाग लिएका ७५ व्यक्तिलाई मृत्युदण्ड दिएको छ । दर्जनौं मानिसलाई आजीवन कारावासको सजाय दिइएको छ ।
यसमा ७०० जनाभन्दा बढी मानिसलाई अभियुक्त बनाइएको थियो । सन् २०१३ मा इजिप्टको राजधानी कायरोमा प्रदर्शन हुँदा सुरक्षाकर्मीहरूले कम्तीमा ८०० मानिसलाई मारेका थिए ।
एम्नेस्टी इन्टरनेसनलले अदालतको फैसलाको निन्दा गरेको छ । यो हास्यास्पद फैसला भएको किनकि कुनै पनि प्रहरी अधिकारीलाई सजाय नदिइएको एम्नेस्टीको भनाइ छ ।
एम्नेस्टी इन्टरनेसनलका हुसैन बामीले भने, ‘अदालतमा अभियुक्तको पक्षमा सबै प्रत्यक्षदर्शी र प्रमाण पेश गर्न दिइएन । तर अर्को पक्षले ल्याएको सबै प्रमाणलाई तुरुन्तै स्वीकार गरियो । सबै ७५ मृत्युदण्ड राजनीतिक रूपमा प्रेरित छन्
जसमार्फत मानिसहरूलाई प्रस्ट सन्देश दिइएको छ कि सरकारविरोधी प्रदर्शन गरेमा यस्तै सजाय दिइनेछ ।’
सन् २०१३ मा धेरैजसो प्रदर्शनकारी कायरोको राबा अल–अदविया स्क्वेरमा मारिएका थिए । ती प्रदर्शनकारी मोर्सीका समर्थक र मुस्लिम ब्रदरहूडका सदस्य थिए । प्रदर्शनकारीहरूले अब्देल फतह अल–सिसीको सैनिक कूविरुद्ध
मोर्सीको समर्थनमा प्रदर्शन गरिरहेका थिए । अल–सिसीले सन् २०१३ को जुलाई ३ मा कू गरेका थिए ।
अदालतले केही अभियुक्तको कम अवधिको सजाय पनि सुनाएको छ । सजाय पाउनेमा इस्लामिक नेता पनि छन् । फोटो जर्नलिस्ट महमूद अबु जैदलाई पाँच वर्षको सजाय दिइएको छ । उनले प्रदर्शनकारीलाई तितरबितर गर्ने
सुरक्षाकर्मीहरूको तस्वीर खिचेका थिए । तर उनलाई छिट्टै रिहा गरिने सम्भावना छ किनकि उनले सुनुवाइमै पाँच वर्ष बिताइसकेका छन् ।
यो मुद्दामा सरकारले अनेकौं प्रदर्शनकारीसँग हतियार थिए र झडपमा आठ प्रहरीको पनि ज्यान गएको तर्क गरेको छ । तर पहिले सरकारले प्रदर्शनमा ४० प्रहरी मारिएको बताएको थियो ।
एजेन्सी