
काठमाडौँ – जन्मँदा उनको अवस्था सामान्य थियो । हुर्कंदै जाँदा आम शिशुभन्दा फरक देखिइन् । टाउको सानो, अनुहार चेप्टो अनि व्यवहार एकोहोरो । बिस्तारै बोल्न, हिँड्न या कुनै पनि प्रतिक्रिया जनाउन नसक्ने भइन् । चिकित्सा विज्ञानका अनुसार यस्तो अवस्था डाउनसिन्ड्रोम (बौद्धिक अपांगता) हो ।
उनी पूर्ण रूपले सहयोगीमा निर्भर छिन् । सहाराका नाममा आमा छिन् । उनकै पालपोषणका लागि ज्यालामजदुरी गर्ने आमाले उनलाई हेरिरहने फुर्सद पाउँदिनन् । बुबाले पाँच वर्षअघि नै संसारबाट बिदा लिइसके ।
आर्थिक रूपले कमजोर परिवारमा जन्मिएकी उनको पीडा यतिमै सकिँदैन । भर्खरै १५ वर्ष लागेकी उनी गर्भनिरोधक तीन महिने सुई नियमित लगाइरहेकी छन् । बच्चा जन्माउन नचाहँदा या जन्मान्तर बढाउन यस्ता परिवार नियोजनका साधन प्रयोग गरिन्छ । ज्यालामजदुरीका लागि आफू दिनभरि घरबाहिरै बस्नुपर्ने हुँदा छोरीको सुरक्षाका लागि यस्तो उपाय अपनाउने गरेको उनकी आमा बताउँछिन् । भनिन्, ‘यसलाई हेर्न घरमा अरू कोही छैन, एक दिन फर्किंदा तलबाट रगत बगेको देखें अनि यस्तो उपाय निकालें ।’ यस्तो अवस्था देखेपछि उनले छोरी बलात्कृत भएको अडकल काटिन् । त्यसपछि जबरजस्ती करणीबाट गर्भ बस्ला भन्ने डरले तीन महिने सुई लगाइदिने गरेको उनले बताइन् । अाजकाे कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएकाे छ ।