१६ असार २०८३, मंगलबार

एचआईभी संक्रमितलाई बाख्रा वितरण

भदौ २६, २०७५
एचआईभी संक्रमितलाई बाख्रा वितरण

सुर्खेत – दैलेख जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आठबीस नगरपालिकामा एचआईभी भई एआरटी प्रयोग गरिरहेका १७ जनालाई जनही ४ वटा बाख्रा वितरण गरिएको छ ।

बाख्रापालनबाट उनीहरूको आयस्रोत वृद्धि भई आत्मनिर्भर बन्न सकुन् भन्ने ध्ययेका साथ साझेदारीमा बाख्रा वितरण गरिएको नगर प्रमुख खड्गराज उपाध्यायले बताए । हाँको पश्चिममा पर्ने आठवीस नगरपालिकाका एचआईभी संक्रमितलाई बाख्रा वितरण गरिएको छ ।

आठवीस नगरपालिका वडा नम्बर ३, ६ र ८ मा सञ्चालित उत्थानशील जीविकोपार्जनका लागि सामुदायिक अनुकूलन क्षमता अभिवृद्धि परियोजना (साकार) को साझेदारीमा एचआईभी संक्रमितलाई आयआर्जन कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरेको हो ।

आठवीस नगरपालिकामा आयोजित बाख्रा वितरण कार्यक्रममा बोल्दै आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले एचआईभी संक्रमितको आर्थिक अवस्थामा सुधार गर्ने उद्देश्य राखेर वितरण गरिएको बाख्रा व्यावसायिक रुपमा पाल्न आग्रह गरे । ‘बाख्रापालनबाट पनि धेरैले आत्मनिर्भरता प्राप्त गरेका छन्,’ उनले भने, ‘व्यावसायिक बन्नुहोस्, आवश्यक परेको खण्डमा सहयोग गर्न नगरपालिका तयार छ ।’

आठबीस नगरपालिकाको वडा नम्बर ८ को ८० हजार, वडा नम्बर ६ को २ लाख र सामाजिक सेवा केन्द्र सोसेकद्वारा सञ्चालित परियोजनाको ५ लाख १० हजार गरी ७ लाख ९० हजार रुपैयाँ बराबर मूल्य पर्ने बाख्रा वितरण गरिएको परियोजनाका कृषि प्राविधिक प्रेमा रोकायले बताए ।

एचआईभी संक्रमित भएका आठबीस नगरपालिका वडा नम्बर ६ का ११ जना, वडा नम्बर ८ का ४ जना र वडा नम्बर ३ का २ जना गरी १७ जनालाई बाख्रा वितरण गरिएको हो । स्थानीय तह र गैरसरकारी संस्थाको साझेदारीमा १७ जनालाई प्रतिव्यक्ति ४ वटाका दरले ६८ वटा बाख्रा वितरण गरिएको कृषि प्राविधिक रोकायाले बताए ।

एचआईभी संक्रमितको आयआर्जनमा सहयोग पुग्ने उद्देश्यले प्रतिव्यक्ति ३४ हजार रुपैयाँ बराबरको बाख्रा वितरण गरिएको उनले बताए । वितरण गरिएको बाख्राको बीमाको लागि २० हजार रुपैयाँ विनियोजन गरिएको आठवीस नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष एंव खरिद समितिका संयोजक मुक्तिप्रसाद उपाध्यायले जानकारी दिए । उक्त अवसरमा आठवीस नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मुक्तिप्रसाद उपाध्याय, वडा नम्बर १ का वडाध्यक्ष पर्वसिंह विश्वकर्मा र वडा नम्बर ६ का वडाध्यक्ष धीरबहादुर शाही सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्