
काठमाडौं — चेक गणराज्यकी पूर्व टेनिस स्टार मार्टिना नभ्रातिलोभाले यूएस ओपनको फाइनलमा सेरेना विलियम्सले गल्ती गरेको बताएकी छन् । तर टेनिसमा महिलामाथि भेदभाव हुने गरेको चाहिँ उनले बताइन् ।
न्युयोर्क टाइम्समा नभ्रातिलोभाले लेखिन्, ‘सेरेनाले उठाएको भेदभावको मुद्दा सही छ । तर उनले कोर्टमा त्यस्तो व्यवहार गर्नु हुँदैनथियो ।’
अमेरिकी टेनिस एसोसिएसनले यूएस ओपनको फाइनलमा प्रशिक्षकबाट इशारा लिएको, –याकेट बजारेको र चेयर अम्पायरसँग दुर्व्यवहार गरेको आरोपमा २० लाख रुपैयाँको जरिवाना लगाएको छ ।
नभ्रातिलोभाले लेखिन्, ‘खेलको सम्मान गर्ने सही तरिका के हो हामीले थाहा पाउनुपर्छ । चेयर अम्पायर कार्लोस रामोसले अंक काट्नुको विकल्प थिएन । दुवैजना एकअर्कासँग कुरा गर्दा नियन्त्रण गुमाएका थिए ।’
नभ्रातिलोभा लेख्छिन्, ‘सेरेना पुरुष भएको भए अम्पायरलाई चोर भन्दा केही हुन्थ्यो कि हुँदैनथियो भन्ने कुरा बुझ्न गाह्रो र बहसयोग्य छ ।’
सेरेनाले प्रशिक्षकबाट इशारा लिएर खेलेको भन्दै अम्पायर रामोसले अंक काटिदिएपछि रिसको सुरमा उनले रामोसलाई चोर भनेकी थिइन् । फाइनलमा जापानी नाओमी ओसाकासँग हारेपछि सेरेनाले आफू बेइमान नभएको बताएकी
थिइन् ।
एजेन्सी