
काठमाडौं — अमेरिकीहरू सेप्टेम्बर ११ को १७औं वार्षिकोत्सव मनाइरहेका छन् । उनीहरू पीडितप्रति श्रद्धाञ्जली, स्वयंसेवी परियोजना तथा नयाँ स्मारकका साथ वार्षिकोत्सव मनाइरहेका हुन् ।
सेप्टेम्बर ११ मा मारिएका व्यक्तिका हजारौं नातेदार, त्यस त्रासदीमा बाँचेका व्यक्ति, उद्धारकर्ता तथा अन्य मंगलवारको वार्षिकोत्सव समारोहमा भाग लिन वर्ल्ड ट्रेड सेन्टर जाने अपेक्षा गरिएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्स चाहिँ अपहरणमा परेका विमानहरू ठोक्किएका अन्य दुई ठाउँमा जानेछन् ।
सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी भूमिमा भएको सर्वाधिक भयानक आतंकवादी आक्रमणमा लगभग तीन हजार मानिस मारिएका थिए ।
राष्ट्रपति र प्रथम महिला मेलानिया ट्रम्प पेन्सिल्भेनियास्थित शांक्सभिल नजिकको एक मैदानमा सेप्टेम्बर ११ को स्मारकमा स्मरणसभामा भाग लिनेछन् ।
पेन्स चाहिँ पेन्टागनमा एक समारोहमा भाग लिनेछन् ।
ट्रम्पले अघिल्लो वर्षको वार्षिकोत्सवमा अतिवादीहरूलाई कडा चेतावनी दिँदै ‘अमेरिकालाई थर्काउन नसकिने’ बताएका थिए ।
अन्तर्राष्ट्रिय आतंकवादले अमेरिकामा पहिलोपटक आक्रमण गरेपछि त्यसले अमेरिकी नीति, राजनीति तथा दैनिक जीवनमा असर पारेको थियो र अझै पनि पार्दैछ । तर घटनाको १७ वर्षपछि घटनाको उपस्थिति सार्वजनिक चेतनामा
घट्दै गएको देखिन्छ ।
फक्सन्युज डट्कमबाट