२६ असार २०८३, शुक्रबार

रसुवा नाकामा सडकको समस्या : उपकरणको अभावमा राजमार्ग खुलेन

रसुवा नाकामा सडकको समस्या : उपकरणको अभावमा राजमार्ग खुलेन
फाइल तस्बिर

रसुवा– उच्च क्षमताको उपकरणको अभावमा पहिराले अवरुद्ध धुञ्चे –स्याफ्रु खण्डको पासाङल्हामु राजमार्ग खुल्न सकेको छैन । 

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरो क्षेत्रको राजमार्ग स्काभेटरले चलाउन नसकिने ठूलाठूला ढुङ्गा दबिएको भेटिएकाले ढुङ्गा फुटाल्न डिभिजन सडक कार्यालयले उपलब्ध गराएको बे्रकर मेशिनको शक्ति नपुग्दा राजमार्ग खुलाउन ढिलाइ भएको हो । डिभिजन सडक कार्यालयसँंग समन्वय गरी उच्च क्षमताको उपकरण दक्षिणी रसुवाबाट ल्याउने तयारी भरहेको छ । मगाइएको यन्त्र बुधबार बिहान १० बजे धुञ्चेपारिको खोपाङ भीरको पहिरोस्थलमा पुग्ने अपेक्षा गरिएको प्रजिअ पौडेलले बताउनुभयो । 

पहिरो पन्छाउने काम शुरु गर्नुपूर्व तीन ठूला ढुङ्गा देखिएको भए पनि उपकरणले खोतल्दै जाँदा पहिराको भित्री भागमा पूरै चट्टान भेटिएपछि राजमार्गको अबरोध हटाउन ढिलाइ भएको हो । 

पहिराले लगभग १०० मिटरभन्दा बढी दूरी सडक पुरेकाले यति दिनमा खोल्न सकिन्छ भन्ने अनुमान गर्न गाह्रो पर्दै गएको सडक प्राविधिकले बताएका छन् । आजको प्रयास भने पाँच प्रतिशत मात्र पूरा भएको बताइएको छ । 

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले भने ५०० भन्दा बढी मालवाहक डिब्बा काठमाडौँ प्रस्थान गर्न टिमुरेमा तयारीमा रहेको बताउनुभयो । केरुङतर्फ सामान लिन रसुवागढीतर्फ जान लागेका सयौँ कण्टेनर डिब्बा धुञ्चेलगायत कालिकास्थान क्षेत्रमा रोकिएर बसेको ट्राफिक प्रहरीले बताएको छ । एकता व्यापार महासङ्घ महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाले भन्सार जाँच पास भएका कण्टेनर दुई तीन दिनभित्रै काठमाडौँ पुग्ने वातावरण मिलाइदिन आग्रह गर्नुभयो । 

–ज्ञानेन्द्र न्यौपाने 

salt training

कमेन्ट गर्नुहोस्