
बुटवल – नेपालमै पहिलो पटक अग्नि नियन्त्रणका लागि इलाइट फायर बल (अग्नि नियन्त्रक बल) भित्रिएको छ ।
अमेरिकी प्रविधिमा थाइल्याण्डमा बनेको फायर बलको शनिवार बुटवलमा सफल परीक्षण गरिएको छ । कोइर्नजी बुटवल कालिकानगरले यस क्षेत्रमै पहिलो पटक भित्र्याएको बलको पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा ५ नम्बर प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले गरे । सो अवसरमा बोल्दै केसीले नेपालको हुने आगलागीका घटनामा यो बलको प्रयोग उपयुक्त हुने बताए ।
उनले भने, ‘साधनस्रोत कम भएका मुलुकका लागि यो बल उपयुक्त देखियो ।’ केसीले ५ नम्बर प्रदेश मन्त्रालय र स्थानीय तहमा आगलागीको जोखिम न्यूनीकरण गर्न आफूले फायर बलको प्रयोग गर्न सबैलाई आग्रह गर्ने बताए ।
भलिबलभन्दा केही सानो र क्रिकेटको डुइज बलभन्दा केही ठूलो बलका माध्यमबाट आगजनीबाट हुने क्षतिलाई कम गर्न सकिने भएको छ । ‘इलाइड फायर इस्टिङगुइसिङ्ग बल’ नामको सानो साधनले आगलागीजस्तो प्रकोपको क्षतिलाई कम गर्न सकिने भएको छ ।
बल आगो लाग्ने सम्भावना भएको ठाउँमा राखेर दुर्घटनाको जोखिम पनि घटाउन सकिन्छ । बलमा आगोको तातो लाग्नसाथ ३ सेकेन्डमा बिस्फोट हुन्छ र आगो निभाउँछ । यो बल आगो लागेको ठाउँ फालेर पनि आगो निभाउन सकिन्छ ।
एक किलो तीन सय ग्रामको यो बल आगजनी हुने सम्भावनाका क्षेत्रमा राख्ने र त्यसमा आगोको तातो छोइएको ३ सेकेण्डमा विष्फोट भएर करीब ९ सेकेण्डमा त्यहाँको आगो निभाउन सक्ने क्षमताको रहेको यसका आधिकारिक विक्रेता को–इनर्जी प्रालि बुटवलका अध्यक्ष सुरज खरेलले बताए । यो कम्पनीको मुख्य कार्यालय अहिले बुटवलको कालिकानगरमा रहेको छ । यसले काठमाडौं, पोखरा, चितवन, सिराह र नेपालगञ्जमा डिलरमार्फत् बिक्री वितरण शुरू गरेको छ ।
‘यो अमेरिकन टेक्नोलोजीमा थाइल्याण्डमा निर्माण भएको अन्तर्राष्ट्रिय गुणस्तरको सामान हो,’ प्रालिका अध्यक्ष सुरज खरेलले भने, ‘यो एउटा बलले १२/१२ को बन्द कोठामा र ९/९ को खुला ठाउँमा लागेको आगो ९ सेकेण्डमै निभाउँछ ।’ मूल्य १२ हजार ५ सय मूल्य रहेको यो बलको आयु ६ वर्षको हुने अध्यक्ष खरेलले बताए । यो पछिल्लो टेक्नोलोजीको उत्कृष्ट उत्पादन रहेको बताउँदै खरेलले देशैभरबाट तीव्र माग आइरहेको बताए ।