१५ असार २०८३, सोमबार

कांग्रेस केन्द्रीय समिति १५१ सदस्यीयसम्म बनाउन सुझाव

कांग्रेस केन्द्रीय समिति १५१ सदस्यीयसम्म बनाउन सुझाव

काठमाडौं– नेपाली कांग्रेस पार्टीको विधान समयानुकूल परिमार्जनका लागि प्रारम्भिक मस्यौदा तयार गर्ने क्रममा काङ्ग्रेसको केन्द्रीय कार्यसमिति ११० देखि १५१ सदस्यीयसम्म बनाउन सुझाव आएको छ । त्यस्तै आठ तहका पार्टी संरचना बनाउने गरी काङ्ग्रेसले विधान संशोधन मस्यौदाको तयारी गरेको छ ।

केन्द्रीय समितिमा पदाधिकारी निर्वाचित वा मनोनीत दुवै विकल्पका बारेमा समेत छलफल अघि बढेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । सङ्घीय संरचनाअनुसार पार्टीका सङ्गठनात्मक संरचनालाई पुनःसंरचना गर्न काङ्ग्रेसले विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा यही भदौ ७ गते पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । 

समिति गठन भएयता आफ्नो कार्यविधि स्वीकृत गरी विधान संशोधनका आधार तय गर्नुका साथै पार्टीका विभिन्न निकाय, भ्रातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समितिलगायत सरोकारवालाबाट सुझाव लिइसकेको छ । काङ्ग्रेस नेता एवं विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले समितिले प्रारम्भिक मस्यौदालाई तीन दिनभित्र एकीकृत गरी प्रदेशस्तरको छलफलमा लैजाने बताए । “केन्द्रीय कार्य समितिको सङ्ख्याका बारेमा प्रारम्भिक चरणमा विकल्पसहित मस्यौदा गरिरहेको छाैं”, उनले भने ।  

प्रदेशस्तरमा अन्तक्र्रियापछि प्रारम्भिक मस्यौदामा प्राप्त सुझावका आधारमा अन्तिम मस्यौदा तयार गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पेश गर्ने नेता लेखकले बताए । मुलुकको नयाँ संरचनाअनुसार काङ्ग्रेसले वडा तहभन्दामुनि बुथ, वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश, केन्द्र तहसम्मको संरचना र केन्द्रीय समितिभन्दा माथि महाधिवेशन तथा महासमिति रहने गरी पार्टी संरचना बनाउने बारेमा छलफल जारी रहेको उनले बताए । 

समितिले संशोधन मस्यौदालाई थप व्यवस्थित बनाउन केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरको संयोजकत्वमा संरचनासम्बन्धी, डा मीनेन्द्र रिजालको संयोजकत्वमा कार्य विभाजन र मानबहादुर विश्वकर्माको संयोजकत्वमा अन्य निकाय तथा आन्तरिक व्यवस्थापनसम्बन्धी उपसमिति गठन गरेको थियो ।

तीन उपसमितिले आफ्नो जिम्मेवारीअनुसारको मस्यौदा तयार गरी मूल समितिमा बुझाइसकेका छन् । समितिले प्रारम्भिक मस्यौदामा पहिलो चरणको छलफल गरिसकेको नेता लेखकले जानकारी गराउनुभयो । बुधबार मात्र समितिले पार्टी सभापति शेरबहादुर देउवा, पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसँग उक्त मस्यौदामाथि छलफल गरेको थियो । यही भदौ ९ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले विधान संशोधनका लागि महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ सम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्