०१ असार २०८३, सोमबार

विधेयक पारित भएकै थाहा छैन माननीयलाई, दशैंको अग्रिम टिकट बुकिङ शुक्रबारबाट

विधेयक पारित भएकै थाहा छैन माननीयलाई, दशैंको अग्रिम टिकट बुकिङ शुक्रबारबाट

काठमाडौं–सरकारले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चालू आर्थिक वर्षका लागि एक लाख टन चिनीको कोटा निर्धारण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । 

बैठकले नेपालको संविधानको धारा २७७ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट प्रकारको योगदान पु¥याउनुहुने विभिन्न व्यक्तिलाई विभूषित गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए । बैठकले मुलुकी फौजदारी (अपराध) संहिताको अनुसूची हेरफेर गरी सबै प्रकारका ठगी मुद्दाको बादी नेपाल सरकार हुने गरी संशोधन गरेको छ । 

त्यस्तै नेपालगञ्जको खजुरामा रहेको कपास विकास समितिको नाम परिवर्तन गरी राष्ट्रिय कपास विकास समिति बनाउने निर्णय गरेको छ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए ।

माननीयलाई विधेयक पारित भएकै थाहा छैन 
संघीय संसद्ले मौलिक हकसम्बन्धी १५ वटा विधेयक हतार–हतारमा पारित गरेको छ । समयसीमा नजिँकिँदै जाँदा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हतार–हतारमा ती विधेयकहरू पारित भएका हुन् । संसद्मा मौलिक हकसम्बन्धी १७ वटा विधेयक प्रस्तुत भएका थिए । २ वटा पछि पारित गर्ने बताइएको छ ।

यी विधेयकहरू पारित गर्नका लागि एकैदिन धेरैपटक बैठक राखिएको थियो । संघीय संसद्ले उक्त विधेयकहरू प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएको छ । स्मरणीय छ, संविधानको धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ । संविधानको धारा ४७ मा मौलिक हकहरुको कार्यान्वयनका लागि आवश्यकता अनुसार संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानून बनाउनैपर्ने प्रावधान राखिएको छ । यस अनुसार असोज २ गते राती १२ बजेसम्म मौलिक हकसम्बन्धी कानुन बनाएर कार्यान्वयनमा ल्याइसक्नुपर्ने सरकारको दायित्व रहेको छ ।

राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनबाट विधेयक पारित हुनुपर्छ । एउटा सभाले पठाएका विधेयक अर्को सभाले सन्देशसहित पठाएमा प्रक्रिया सहज हुन्छ तर केही संशोधन परे पुनः प्रक्रिया लम्बिन्छ । विधेयकमा के आयो र के पारित भयो भन्नेमा सांसद नै अन्यौलतामा छन् ।

पारित भएका विधेयकमा १.वैयक्तिक गोपनियता, २.जातिय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) पहिलो संशोधन, ३.सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, ४. जनस्वास्थ्य, ५.रोजगारीको हक, ६.उपभोक्ता संरक्षण, ७. खाद्य अधिकार, ८.आवासको अधिकार, ९.भूमिसम्बन्धी सातौँ संशोधन, १०.सामाजिक सुरक्षा सम्बन्धी, ११. अनिवार्य तथा निशुल्क शिक्षा, १२. अपराध पीडित संरक्षण, १३.बालबालिका, १४. वातावरण संरक्षण (पहिलो संशोधन), १५. अपांगता भएका व्यक्तिको अधिकार रहेका छन् ।, नेपाल समाचारपत्रमा खबर छ । 

पन्त हत्याबारे छानबिन गर्न अर्को समिति 
नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे छानबिन गर्न प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा अधिकारसम्पन्न समिति गठन गरेको छ । पन्तको हत्याबारे प्रहरीको भूमिका सम्बन्धमा जनमानसमा आवाज उठिरहेका बेला प्रहरीबारे नै छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक बस्न्यातको नेतृत्वमा गठन गरेको समितिका सदस्यमा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उत्तमराज सुवेदी र नीरजबहादुर शाही तथा विभिन्न क्षेत्रका व्यक्ति रहेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक क्षेत्रीले यसअघि प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीको संयोजकत्वमा बनाइएको समितिलाई अधिकारसम्पन्न बनाएर प्रहरी नायब महानिरीक्षकलाई संयोजक बनाइएको बताए । पन्तको हत्यामा संलग्न दोषीलाई अविलम्ब सार्वजनिक गरी कडा कारवाही गर्न मानवअधिकारवादी, निर्मला पन्तका छिमेकी तथा सांसदहरुले माग गरेको छन् । 
    
यसपालि बालगोपालेश्वरको दर्शन गर्न नपाइने भो
पुनःनिर्माण हुन नसक्दा यस वर्ष पनि सर्वसाधारणले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको दर्शन गर्न नपाउने निश्चित भएको छ । गोरखा भूकम्प भएको तीन वर्ष बितिसक्दा पनि काठमाडौँ महानगरपालिका पुरातत्व विभागबीच सकारात्मक छलफल हुन नसक्दा निर्माणको कामले गति लिन सकेको छैन ।

यसअघि काठमाडौंँ महानगरपालिकाले मन्दिरसहित रानीपोखरीको पुनःनिर्माण गर्दा  विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाएको र निर्माणका क्रममा सिमेण्ट प्रयोग गरेको भन्दै विवाद सिर्जना भएपछि निर्माणको सम्पूर्ण काममा रोक लगाएको थियो । कामपाले व्यापारिक दृष्टिकोणले सोहीअनुरुप पोखरी क्षेत्रको निर्माण शुरु गरे पनि आधुनिक निर्माण  सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि शुरु गरिएको निर्माण रोकिएको हो । 

विसं २०७२ माघ महीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीमा  पुनःनिर्माणको शुभारम्भ गर्नुभएको थियो । उक्त मन्दिर हरेक वर्ष तिहारमा भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले भाइटीका गर्छन् । 

दशैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट खुल्ने
सरकार र यातायात व्यवसायीबीच सहमति जुटेसँगै दशैंमा उपत्यका बाहिरिने यात्रुका लागि बसको अग्रिम टिकट बुकिङ आगामी असोज ५ गतेबाट खुल्ने भएको छ । यसअघि सरकारले रोक्का गरेको समितिको बैंक खाता खोल्नुपर्ने र भाडा वृद्धि गर्नुपर्ने सर्त राख्दै यातायात व्यवसायीले दशैंका लागि अग्रिम टिकट खुल्ला गर्न अटेर गरेका थिए ।

यातायात व्यवस्था विभागमा आइतबार व्यवसायी र सरकारबीच भएको छलफलमा सहमति जुटेसँगै आगामी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

सुनकाण्डका आरोपी तारेखमा छुटे
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रहरी नायब उपरीक्षक डीएसपी प्रजित केसी साधारण तारेखमा छुटेका छन् । उच्च अदालत विराटनगरको आदेशमा उनी साधारण तारेखमा छुटेका हुन् । 

आइतवार न्यायाधीस उमेशराज पौडेल र उमेशकुमार सिंहको इजलासले केसीलाई साधारण तारेख र गोरेका सहयोगी रामकुमार तिवारीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्टार नारायण रेग्मीले जानकारी दिए ।

महासङ्घद्वारा दबाबमूलक कार्यक्रम घोषणा 
नेपाल पत्रकार महासङ्घले यही भदौ १ गतेदेखि लागू भएको मुलुकी (फौजदारी) संहिता मुलुकी (देवानी) संहितालगायतका ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कानूनी प्रावधान संशोधनका लागि भन्दै दोस्रो चरणको दबाबमूलक कार्यक्रम घोषणा गरेको छ । महासङ्घले विज्ञप्तिमार्फत आगामी असोज १० गतेदेखि कात्तिक १५ गते सम्मका लागि विभिन्न कार्यक्रम घोषणा गरेको छ । 

महासङ्घले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उक्त ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कानूनी प्रावधानको पहिचान र संशोधनका लागि आवश्यक सुझाव दिन कार्यदल गठन गरेको कार्यलाई सकारात्मक रुपमा लिएको छ । 

साउदीमा नेपाली मजदुरीको ज्याला बढ्यो
साउदी अरबमा काम गर्न जाने नेपालीको न्यूनतम ज्याला बढेको छ । अब साउदी जाने नेपाली कामदारले मासिक न्यूनतम ज्याला न्यूनतम १००० रियाल (३० हजार रुपैयाँ) र खाना भत्ता ३०० रियाल (९ हजार रुपैयाँ) पाउने छन् । 
त्यस्तै अधिकतम ज्याला ११ हजार रियाल ( ३ लाख ३० हजार रुपैयाँ) र खानाभत्ता ५०० रियाल (१५ हजार रुपैयाँ) पाउनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पहलमा सरकारले न्यूनतम ज्याला बढाएर प्रस्ताव पारित गरेको हो । 

नेपाल २५ रनले विजयी
भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आइतबार भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । 

लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा सवै विकेट गुमाउँदै १८९ रन बनायो । एक सय ९० रनको विजयी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको यू–१९ टोलीले ४७ दशमलव चार ओभरमा एक सय ६४ रन मात्र बनायो । 

salt training

कमेन्ट गर्नुहोस्