
हेटौंडा–प्रदेश नं ३ प्रदेशसभाको बैठक सोमबार अपराह्न बस्दै छ । उक्त बैठकमा प्रदेश मामिला समितिबाट प्राप्त प्रतिवेदनसहित स्वास्थ्य सेवासम्बन्धी विधेयक २०७५ र संस्था दर्तासम्बन्धी विधेयक २०७५ प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।
यसैबीच प्रदेशसभा बैठकले विभिन्न मितिमा पारित गरेको सात विधेयक प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालालाई प्रमाणीकरण गर्न पठाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव भरतकुमार बुढाथोकीले राससलाई जानकारी दिए ।
प्रदेशसभा सचिवालयमा आइतबार अपराह्न बसेको कार्य परामर्शको बैठकले सोमबार बस्ने प्रदेशसभाको बैठकका लागि केही नयाँ विधेयक प्रस्तुत हुने र केही दिनभित्रै ती विधेयकलाई सोही बैठकले पारित गर्ने लक्ष्य रहेको प्रदेशसभा सचिवालयका उपसचिव मोहनराज निरौलाले जानकारी दिए ।