२३ जेठ २०८३, शनिबार

भारतीय सेनापतिको टिप्पणी–नेपाल जे गरेपनि भारतबाट टाढिन सम्भव छैन

भारतीय सेनापतिको टिप्पणी–नेपाल जे गरेपनि भारतबाट टाढिन सम्भव छैन

काठमाडौं — भारतीय सेनाका सेनापति बिपिन रावतले नेपाल र भुटान जस्ता देश भारतबाट टाढिन सम्भव नरहेको बताएका छन् । 

आइतवार भारतीय पत्रिका दी इन्डियन एक्सप्रेसले छापेको एक समाचारमा भूगोगका कारण नेपाल र भारत भारततर्फ नै झुकेको उनको भनाइ छ । 

भूगोलकै कारण ती दुई देश चीनतर्फ ढल्किन सम्भव नरहेको उनले बताए ।

बिमस्टेक सदस्य राष्ट्रहरूको संयुक्त सैन्य अभ्यास माइलेक्स–१८ को समापन समारोहपछि सञ्चारमाध्यमसँग कुरा गर्दै रावतले यो कुरा बताएका हुन् । भदौ २५ गतेदेखि शुरू भएको अभ्यास आइतबार सकिएको हो । 

नेपाल माइलेक्स–१८ मा अनुपस्थित रहेको र चीनसँग सम्बन्ध बढाइरहेको भनी सोधिएको प्रश्नमा रावतले भने, ‘नेपाल भारतबाट टाढिन सक्दैन । नेपाल र भुटान जस्ता देशले भौगोलिक अवस्थितिका कारण भारततर्फ नै ढल्किनुपर्ने हुन्छ । भूगोलले उनीहरूलाई चीनतर्फ नभई भारततर्फ ढल्किन लगाउँछ । हाम्रा नेताहरू छिमेक पहिले र पूर्वतर्फ काम भन्छन् । बिमस्टेक तिनै प्रयासको एक अंग हो । हामीहरू छिमेकीसँग सम्बन्ध बलियो बनाउँदैछौं । हामी ठूलो देश हौं, हामीले पहलकदमी लिएपछि अरू पछिपछि लाग्छन् ।’

सात बिमस्टेक राष्ट्रमध्ये भारत, भुटान, म्यान्मार, श्रीलंका र बंगलादेशका सैनिकले अभ्यास गरेका थिए भने नेपाल र थाइल्यान्डले पर्यवेक्षक टोली मात्र पठाएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्