
काठमाडौं — संसारको सबभन्दा धनी व्यक्तिमध्ये एक व्यापारी मान अल सानेबाट ऋण असुल्नका लागि साउदी अरब सरकारले उनको सम्पत्ति लिलामी गर्ने निर्णय लिएको छ ।
अर्को महिना उनको सम्पत्ति लिलाम बिक्री हुनेछ र ऋण चुकाइनेछ । टाट पल्टिसकेका उनी कुनै समयमा संसारका शीर्ष १०० धनीमा पर्थे ।
सन् २००९ मा उनको कम्पनी साद ग्रूप टाट पल्टेपछि अघिल्लो वर्ष उनलाई हिरासतमा लिइएको थियो । विगत नौ वर्षदेखि ऋणदाताहरू साद ग्रूपबाट ऋण असुलीका लागि मुद्दा लडिरहेका थिए । साउदी अरबको इतिहासको यो
सबभन्दा ठूलो ऋण विवाद हो ।
तीन न्यायाधीश भएको न्यायाधिकरणले पोहोर साल एतकान अलायन्सलाई ऋण विवाद सुल्झाउनका लागि घरजग्गा लिलामीको जिम्मेवारी दिएका थिए । एतकान पाँच महिनामा साउदीको राजधानी रियाद र जेद्दाहमा लिलामी गराउनेछ ।
पहिलो लिलामी अक्टोबर महिनाको अन्तिमतिर हुनेछ । यसमा पूर्वी राज्य खोबर र दम्माममा भएका आवासीय भवन, व्यापारिक फ्ल्याट र फर्ममा बोली लगाइनेछ ।
लिलामीबाट दुई अर्ब रियालसम्म आउने अनुमान गरिएको छ । एक सूत्रले बताएअनुसार, घरजग्गा कारोबारमा मन्दीका कारण लिलामी प्रक्रियाका ढिलाइ भएको हो । मार्चमा एतकानले पहिलो चरणमा साद ग्रूपका लगभग ९०० वाहन
लिलामी गरेको थियो ।
एजेन्सी