०७ साउन २०८३, बिहीबार

महिला हिंसा न्युनिकरणका लागि गृह मन्त्रालयले ‘विशेष कार्यक्रम’ ल्याउने

महिला हिंसा न्युनिकरणका लागि गृह मन्त्रालयले ‘विशेष कार्यक्रम’ ल्याउने

काठमाडौं– पछिल्लो समय देशव्यापी रुपमा बढ्दै गइरहेका महिला हिंसाका घटना न्यूनिकरणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम ल्याउने भएको छ । 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसा र बलत्कारका घटना न्युनिकरणका लागि गृहमन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको बताएका छन् । सोमवार राष्ट्रिय मानवअिधकार आयोगमा आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्रीले महिला हिंसा र बलत्कारका घटनालाई सरकारले गम्भिर रुपमा लिएको बताए ।

‘मदिरा, लागूपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलत्कारको घटना बढेका छन,’ गृहमन्त्री बादलले भने, ‘महिला हिंसाका घटनाको कारक तत्वका रुपमा रहेका मदिरा, लागूपदार्थ र इन्टरनेटको प्रयोगमा मन्त्रालयले कडाइ शुरु गरेको छ ।’

गृहमन्त्री थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलत्कारको घटनाबाट आफू दुखित भएको भन्दै घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।  

‘घटनालगत्तै स्थानीय प्रहरीलाई गम्भीर रुपमा अनुसन्धान गर्न भनिएको हो, केही दिनमै केन्द्रबाट सिआईबीको टोली पनि पठाइएको हो । पछि केन्द्रबाट उच्चस्तरीय छानविन समिति गठन गरियो,’ गृहमन्त्री थापाले भने, ‘अनुसन्धानमा प्रहरीको समेत लापरवाही रहेको गुनासोका आधारमा ६ जना प्रहरीलाई निलम्बित गरीएको छ । थप अनुसन्धान टोली पनि परिचालन भएको छ । केही दिनमै परिणाम आउँछ ।’

आफूले गृहमन्त्रालयको नेतृत्व सम्हालेपछि विगतमा रहेको चन्दा आतंक, विष्फोट, गुण्डागर्दी, तस्करी नियन्त्रणमा आएको बताउँदै गृहमन्त्रीले यस्तो कार्यमा आयोगले समेत साथ दिनुपर्ने बताए । 
छलफलमा आयोगका अध्यक्ष शर्माले कञ्चनपुर घटनाको छानबिनको अवस्थाबारे जिज्ञासा राख्दै सो घटनामा प्रहरीको भूमिका फितलो देखिएको गुनासो गरे । जनताको जिउ धनको सुरक्षामा गृह मन्त्रालय गम्भिर बन्नुपर्ने अध्यक्ष शर्माको भनाइ थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्