
काठमाडौं — चन्द्रमाको भ्रमणका लागि एक अर्बपतिले अमेरिकाको स्पेसएक्स कम्पनीसँग सम्झौता गरेका छन् । ती अर्बपतिसँग आठ कलाकार पनि जानेछन् ।
स्पेसएक्सले बिग फाल्कन रकेटबाट उनीहरूलाई चन्द्रमामा पठाउनेछ ।
जापानी अर्बपति तथा अन्लाइन फेशन उद्योगपति युसाकु माइजावा सन् २०२३ सम्ममा स्पेसएक्स रकेटमार्फत चन्द्रमाको भ्रमण गर्ने पहिलो सामान्य व्यक्ति हुनेछन् । सन् १९७२ को अन्तिमतिर अमेरिकी अपोलो मिसनपछि चन्द्रमा यात्रा गर्ने माइजावा नै पहिलो यात्री हुनेछन् ।
उनले चन्द्रयात्राका लागि कति रकम चुकाए भन्ने विषयको खुलासा गरेका छैनन् । माइजावाले क्यालिफोर्नियाको हथोर्नस्थित स्पेसएक्स मुख्यालय एवं रकेट कारखानामा सोमवार भने, ‘मलाई बाल्यकालदेखि नै चन्द्रमासँग प्रेम थियो र
त्यहाँ पुग्ने मेरो जीवनभरिको सपना हो ।’
फोर्ब्स पत्रिकाका अनुसार, माइजावा जापानका १८औं धनी व्यक्ति हुन् । उनीसँग तीन अर्ब डलर बराबरको सम्पत्ति छ ।
कलाप्रतिको आफ्नो प्रेमका कारण उनले यस यात्रामा कलाकारलाई सँगै लैजाने फैसला गरेका हुन् । उनले भने, ‘यस चन्द्रै अभियानमा म संसारभरिका आठ कलाकारलाई आमन्त्रित गर्न चाहन्छु ।’
ती कलाकारहरूले पृथ्वी फर्केपछि केही कलाकृतिहरू बनाउनुपर्नेछ । ती कलाकृतिले मानिसलाई प्रेरित गर्ने मियाजावाको भनाइ छ ।
निजी कम्पनी स्पेसएक्सका सीईओ एलोन मस्कले यो यात्रा बिग फाल्कन रकेटमा हुनेछ । यो अन्तरिक्षयात्राकै सबभन्दा शक्तिशाली रकेट भएको बताइएको छ ।
एजेन्सी