काठमाडौं — विश्व आर्थिक मञ्चको एक अध्ययनअनुसार, सन् २०२५ सम्म रोबोटले अहिलेको कार्यभारको ५२ प्रतिशत भाग सम्हाल्नेछन् । अहिलेको तुलनामा त्यो दुईगुणा बढी काम हुनेछ ।
सोमवार प्रकाशित अध्ययनमा मानवका लागि नयाँ भूमिकामा तीव्र वृद्धि हुने सम्भावना छ । मशिन र कम्प्युटर कार्यक्रमसँग मिलेर कसरी काम गर्ने र उनीहरूको गतिका साथ तालमेल मिलाउनका लागि मानिसले आफ्नो कौशल वृद्धि गर्नुपर्ने अध्ययनको निष्कर्ष छ ।
स्विस संगठनले एक बयानमा भन्यो, ‘अहिले मशिनहरूले २९ प्रतिशत काम गरिरहेका छन् । सन् २०२५ सम्म अहिलेको कार्यभारको आधी काम मशिनले गर्नेछन् ।’
अध्ययनअनुसार, इकमर्स एवं सामाजिक सञ्जालसहित सेल्स, मार्केटिङ र ग्राहकसेवा जस्ता रोजगारीमा मानव कौशल आवश्यक हुन्छ । ती क्षेत्रमा मशिनको आगमनपछि मानव कौशलमा वृद्धि देख्न पाइन्छ । यसै किसिमले
सिर्जनात्मकता, आलोचनात्मक सोच र प्रबोधन जस्ता कार्यमा पनि मानव कौशल कायम रहन्छ ।
एजेन्सी